नेप्से परिसूचक ९.०१ अंकले घट्यो

काठमाडौं। आज नेप्से परिसूचक हरियो हुन सकेन । आज नेप्से परिसूचक ९.०१ अंकले ओरालो लागेको छ । चार अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेमा २४८ कम्पनीको सेयर किनबेच भएको छ ।

कारोबार रकम तथा जलविद्युत् क्षेत्रमा देखिएको लगानीकर्ताको चासोले सेयर बजार बढ्ने क्रममा नै रहेको देखाएको छ ।

कारोबार रकमको आधारमा हेर्दा सबैजसो जलविद्युत् कम्पनी अगाडि देखिएका छन् । कारोबारका आधारमा ३५ करोड ७८ लाख रुपैयाँको कारोबार भएर रिडी हाइड्रोपावर अगाडि छ ।

१९ करोडको कारोबारले अपी दोस्रो स्थानमा छ । नेसनल हाइड्रो पावर १४ करोडको कारोबारले तेस्रो स्थानमा रह्यो । सबैभन्दा बढी कमाउने लगानीकर्तामा पिपुल्स हाइड्रोपावरका लगानीकर्ता छन् ।