सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्नेछ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो ।

उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो ।

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

आजको बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका हुन् ।