पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुँदैछ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा उनले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताए ।

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो,उनले भने, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।

सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पारे ।

नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गरे ।

नेकपा (एमाले) का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीशुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिए ।

चौतारीको स्थापना दिवसका अवसरमा डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कार प्रदान गरिएको छ ।

अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई प्रदान गरिएको छ ।

सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई उपप्रधानमन्त्री पौडेलले प्रदान गरे ।

चौतारीले क्रियाशील रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस