नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथ लिंदै

काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लाग्नु भएको छ ।

सोमबार दिउँसो १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था रहेको छ ।

अहिले मुलुकमा प्रधनन्यायाधीश पद रिक्त रहेकाले कायम मुकायम प्रधनन्यायाधीशले शपथ गराउने छन्।

राष्ट्रपति कार्यालयले पौडेलको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्दैछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नेपालको संविधान अनुसार संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सोमबार नै पदभार हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले सोमबार नै शितल निवास छाड्ने छन् ।

उहाँ शितल निवासबाट बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर २ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन् ।