सत्ता गठबन्धनले गर्यो मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी,यी हुन् मन्त्री बन्ने सांसदहरू?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मंगलबार (भोलि) सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

मन्त्रिपरिषद्बारे आज टुंगिन्छ।भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ। भोलि नै नयाँ मन्त्रीहरूको शपथ हुन्छ,उनले भने।

आजै बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन नेताबीचको भेटवार्तामा भोलि नै अपराह्न ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको छ।

सो बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ। दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।

त्यस्तै काँग्रेसबाट मन्त्री हुने सांसदहरु ब्रदी प्रसाद पाण्डे, एनपी साउद, उदयशम्शेर राणा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, रमेश रिजाल, अजय चौरसिया, आरजु राणा, जीवन परियार, सीता गुरुङ, डिगबहादुर लिम्बु, विनोद चौधरी, सञ्जय गौतम, सरिता प्रसाईँ, तेजुलाज चौधरी लगायत मन्त्रीको दौडमा छन्।

कांग्रेसमा मन्त्रीका आकांक्षीको ताँती देखिए पनि सत्ता गठबन्धनभित्र सरकारबारे प्याकेजमै सहमतिको तयारी भइरहेको छ।

गठबन्धनका शीर्ष नेता बसेर सरकारबारे प्याकेजमै सहमति गर्ने कांग्रेस नेता एनपी साउद बताउँछन्। गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकै पटक सहमति हुने उनको भनाइ छ।

केन्द्रका १६ मन्त्रालय, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा संसदीय समितिको सभापतिबारे प्याकेजमै सहमति हुने कांग्रेस नेताहरू बताउँछन्।

सांसदको संख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ। गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ।

यता जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेको छलफलमा सहभागी एक नेताले बताए। लोसपाले दुई मन्त्रालयको दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ।

यस्तै आठ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारमा सहभागी नहुने बताएका छन्। गठबन्धनको छलफलमा सहभागी कांग्रेसका एक नेताका अनुसार पावर सेयरिङमा एकीकृत समाजवादीलाई ३ मन्त्रालय दिने कुरामा खासै समस्या छैन। उनका अनुसार उपराष्ट्रपति पाएको जसपाले भने दुई वटामात्र मन्त्रालय पाउने छ।

लोसपाले एउटा मन्त्रालय पाउने सम्भावना छ। मन्त्रालय भागबण्डाको सन्तुलन मिलाउने गरी केही दललाई संसदीय समितिको सभापति दिइने छ। १० वटा संसदीय समितिमा कांग्रेसले ४ वटामा दाबी गरेको छ।

सार्वजनिक लेखा समिति विपक्षीले पाउने भएकाले ८ दलीय गठबन्धनमा ९ वटा समितिमात्र भागबण्डा हुनेछ। माओवादीले २, एकीकृत समाजवादी, जसपा, लोसपालाई एक–एक समितिको नेतृत्व दिने गरी सहमति हुन सक्ने स्रोत बताउँछ।