प्रचण्ड–माधवको सम्बन्ध टाढिँदै,प्रचण्डको व्यवहारमा सुधार नआए सरकारबाट बाहिरिन माधव नेपालको चेतावनी

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्बन्ध चिसिँदै गएको चर्चा शुरु भएको छ।

संघ देखि प्रदेशसम्मै सत्ता गठबन्धन र सरकारमा सहभागिताको सन्दर्भमा आफुलाई बेवास्ता गरिएको गुनासो माधवको छ। यसले दुई पार्टीबीच कार्यगत एकता र समाजवादी मोर्चा निर्माणको कसरतमा समेत अन्यौलता थपिएको छ।

नेकपा कालमा केपी ओलीको विरोधि कित्तामा एकजुट भएका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको सम्बन्ध त्यसयताका थुप्रै राजनीतिक घटनाको सारथी बन्यो।

नेकपा विभाजन र त्यसपछि एमाले विभाजनमा एक अर्काको आधार बनेका प्रचण्ड र माधवबीचको सम्बन्धमा सुमधुरता थपिँदै गयो।

तत्कालीन ओली सरकारलाई विस्थापित गर्न कांग्रेस नेतृत्वमा ५ दलीय गठबन्धन निर्माणमा उनीहरु मुख्य योजनाकार रहे।

गठबन्धनमै रहेर सरकार निर्माण र निर्वाचनमा गएका प्रचण्ड माधव निर्वाचनपछि भने एकअर्काका प्रिय देखिएका छैनन्।

हाल प्रचण्ड नेतृत्वको सरकारमा माधवको दल एकीकृत समाजवादी पनि सहभागि छ। तर सत्ता गठबन्धन र सरकारमा प्रचण्डसँगको असन्तुष्टी उनले सार्वजनिक रुपमै पोख्न थालेका छन्।

प्रचण्ड माधवको हार्दिकतालाई पार्टी एकता वा कार्यगत एकतातर्फ नै अगाडी बढाउने तयारीमा दुई पार्टीहरु थिए।

निर्वाचन अगाडी र निर्वाचन पश्चात पनि एमाले बाहेकको वाम एकता वा वृहत समाजवादी मोर्चाको निर्माण गरेर अगाडी बढ्ने पक्कापक्की जस्तो थियो । तर अहिले दुवै दलले त्यसलाई बेवास्था गरेका छन्।

प्रचण्ड माधवबीचको सम्बन्ध धुमिल बन्दै जाँदा समाजवादी मोर्चाको विषय अलमलमा परेको छ। पुस १० मा प्रचण्ड नेतृत्वको सरकार बन्दा माधव समावेश भएनन्।

हाल सरकारमा तीन मन्त्रालय दावी गरेको एकीकृत समाजवादीले २ मन्त्रालयमा चित्त बुझाएको छ।

संघ देखि प्रदेशसम्मकै सरकारमा सम्मानजनक भूमिका नपाएको भन्दै उनले गठबन्धनमाथिनै धावा बोलिरहेका छन्। यसबारे बुधवारको गठबन्धनकै बैठकमा प्रधानमन्त्रीले माधवलाई सचेत नै गराएको बताइन्छ।

नेकपा कालमा विद्रोहको सहयात्री बनेका प्रचण्ड माधव वर्तमान गठबन्धन निर्माणमा पनि उतिकै सक्रिय रहे। तर प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड माधवसँग पहिले जस्तो उदार देखिन छाडेका छन्।