जनयुद्ध लडेका रायमाझी धनयुद्धमा यसरी सफल भए

फाइल फाेटाे

काठमाडौं। भुटानी शरणार्थीसम्बन्धि ठगी मुद्दामा फरार रहेका नेकपा(एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ। पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् ।

चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँ आलिसान घर किनेका थिए। त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ।

जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ ।

भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले पटक पटक पैसा बुझेका थिए।

त्यसवापत टोपबहादुरले गृह मन्त्रालयमा गएर सहजीकरण समेत गरिदिएका थिए। उनका छोरा सन्दीप ६ दिनदेखि हिरासतमा छन् भने बाबु भने फरार छन् ।

काठमाडौंको सो घर मात्र होइन कपिलवस्तुमा पनि उनको अस्वभाविक सम्पत्ति छ। छोरा सन्दीपले केही वर्षअघि मात्र करोडौं रुपैयाँमा जग्गा किनेका छन्।

‘सन्दीपको स्रोत खुल्ने कुनै व्यापार छैन,उनी निकट एक व्यक्ति भन्छन्, तर करोडौंको जग्गा कसरी खरिद गरे अचम्मको विषय छ ।

अहिले ठगी मुद्दासँगै रायमाझीको सम्पत्तिको अनुसन्धान गर्ने हो भने  उनको करोडौंको सम्पत्ति स्रोत नखुलेर जफत हुने अवस्था छ। तर, ठगी मुद्दाबाटै जोगाउन दौडधुप चलिरहेको छ।

यही सम्पत्तिको लतले टोपबहादुर माओवादी छाडेर एमालेमा गएका थिए। त्यसवापत केपी ओलीको सरकारमा उनले उपप्रधानमन्त्रीसहित उर्जामन्त्री पाए।

यसरी शरणार्थी बनाएर पठाउने नाममा त ठगी गर्नेले उर्जा मन्त्री हुँदा कति भ्रष्टाचार गरे भन्ने अनुमान गर्न सहजै सकिन्छ ।

त्यसो शान्ति प्रक्रियामा आएलगत्तै उनी बिचौलियाको संगतमा थिए। हाल पक्राउ परेका सानु भण्डारी र सन्देश शर्मासँग उनको हिमचिम २०६४ सालदेखि नै थियो।

उनीहरुमार्फत विगतमा पनि धेरै काम सेटिङमा गरेका थिए । तर, यसपटक पैसा पचाउन सकेनन्।

माओवादीमा हुँदा पनि उनी पटक-पटक मन्त्री बनेका थिए। १० वर्ष जनयुद्ध लडेका रायमाझी पछिल्लो १७ वर्षमा धनयुद्धमा लागेको उनको सम्पत्ति विवरणबाट प्रष्ट हुन्छ।