दिल्लीमा बसेर मानवतस्करी गर्ने जोन खड्काको धन्दाबारे थप खुलासा: टेकनाथ रिजाल र केशव दुलालसँग यस्तो थियो सम्वन्ध

काठमाडौं।भारतको दिल्लीस्थित द्धावरकामा देखावटी एभरेष्ट मस्म पसल खोलेर मस्मको व्यापार गर्ने सुनसरी पानमाराका जोन खड्काको वास्तविक धन्दा मानवतस्करी नै भएको खुल्दै गएको छ।

हाम्रो अनलाइनले शनिबार समाचार प्रकाशित गरेपछि यसबारेमा थप खुलासा हुने क्रम बढ्दै गएको हो।

भुटानी नागरिक विवाह गरेका जोन खड्काको बारम्बार भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग भेटवार्ता भइरहने गरेको दिल्लीस्थित हाम्रा समाचार स्रोतको दावी छ।

नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालकै आग्रहमा जोन खड्काले थुप्रै व्यक्तिका परिचय पत्रलगायतका कागजात तयार गर्ने गरेको बताइएको छ भने यसअघि हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मुख्य योजनाकार केशव दुलालकै उस्कावटमा जोन खड्काले दुवईका लागि भिसा सेन्टर खोल्ने भन्दै थुप्रै मेनपावर व्यवसायीलाई दिल्लीमा डाकेर कयौंसँग मोटो रकम ठगी गरेको पनि बुझिएको छ।

जोन खड्काले दिल्लीमै पनि थुपै्र नेपालीलाई ठगेको जानकारी प्राप्त भइरहेको छ। मुख्यत उसको धन्दा दिल्ली, चेन्नाई, मुम्बई लगायतका स्थानबाट नेपालीलाई विदेशमा रोजगारी दिलाउने नाममा मानवतस्करी हो।

खड्काको यो धन्दा निकै लामो समयदेखिको हो। उनले अवैद्यरुपमा कामदार उडाउन नक्कली कागजातको समेत व्यवस्थापन गर्ने गरेको स्रोतको दावी छ।

भारतका विभिन्न अन्तराष्ट्रिय विमानस्थलबाट नेपालीलाई विदेशमा जानु पर्दा नेपाल एम्वेसीको नो अव्जेक्सन लेटर आवश्यक पर्ने हुन्छ तर जोन खड्काले कहिलेकाँही सेटीङबाटै र अधिकांश नेपाल एम्वेसीको नक्कली पत्र तयार गरेर उडाउने गरेको पाइएको छ।

नेपालका मेनपावर व्यवसायी र मेनपावरको धन्दा गर्ने दलालले यहाँबाट दिल्ली पठाएका नेपालीलाई त्यहाँबाट उडाउने काम जोन खड्काको हो।

यस वापत उनले मोटो रकम लिने गर्छन्। खासगरी हाउसमेडका रुपमा युवती विदेश पठाउने उनको धन्दा हो।