नक्कली शरणार्थी प्रकरण: प्रहरीले आज प्रतिवेदन बुझाउँदै

फाइल तस्वीर

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले छानविन टुंग्याएको छ। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ।

नेपाली नागरिकलाई नक्क्ली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ।

केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ ।

आरोपितमध्ये चार उच्च पदस्थहरु टोपबहादर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि भने राज्य विरुद्धको कसुरमा पनि मुद्दा चलाउनुपर्ने प्रहरीको ठहर छ।

आरोपित ३२ जनामध्ये १६ जना हाल प्रहरीको हिरासतमा रहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर प्रहरीले शनिबार प्रतिवेदन तयार पारेको हो ।

अनुसन्धानको क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा उजुरी दिएका थिए । गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी उठाएको अनुमान गरिएको छ।

तेस्रो मुलुक पुर्नवासको लागि गरिएको प्रमाणिकरणमा छुटेका शरणार्थीबारे छानविन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलमै घुसपैठ गराएर गिरोहले संगठित रूपले मानव तस्करी गरेको खुलेको छ।