छेडागाड नगरपालिकाका निप्रप्रअ रोकायले खाना–खाजामा ४२ लाखको नक्कली बिल बनाएर घोटाला,छानबिन समिति गठन

काठमाडौं। स्थानीय तहका जनप्रतिनिधि विभिन्न अनियमिततामा संलग्न भएका समाचार बेलाबेलामा आइरहन्छन्। कतिपय जनप्रतिनिधिविरुद्ध अख्तियार र अदालतमा मुद्दा दायरसमेत भएका छन्।

कर्णाली प्रदेशको जाजरकोटमा भने कर्मचारीले जनप्रतिनिधिलाई छक्याएर अनियमितता गरेको पाइएको छ। छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिले खाना–खाजा खाएको नक्कली बिल बनाएर घोटाला गरेका हुन्।

छेडागाडका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले होटल व्यवसायीसँगको मिलेमतोमा बढी रकमको बिल बनाएर भुक्तानी गरेको पाइएको छ। बिल शंकास्पद पाइएपछि नगरपालिकाले जनप्रतिनिधिकै संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

छेडागाड–१२ का वडाध्यक्षसमेत रहेका छानबिन समिति संयोजक प्रेमबहादुर खत्रीले होटल सञ्चालक र प्रशासकीय अधिकृतले मिलेर अनियमितता गरेको पाइएको बताए।

जनप्रतिनिधिले खाना–खाजा खाएको भनेर ४२ लाखको बिल बनाइएको र त्यसमध्ये २५ लाखभन्दा बढी भुक्तानी भइसकेको उनले जानकारी दिए। गत वर्ष वैशाखमा जनप्रनिनिधि निर्वाचित भएर आएयता खाना र नास्तामा यो रकम खर्च भएको भनेर बिल बनाइएको छ।

जबकि दुईवटा नगरसभामा गरी खाना–खाजामा २ लाख ७० हजार र कलम–कापीमा १ लाख ७० हजारमात्र खर्च भएको जनप्रतिनिधिले बताएका छन्।

छानबिन समिति संयोजक खत्रीका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार ८२५ मध्ये १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपैयाँ भने भुक्तानी भइसकेको छ।

२०७९ असार १ मा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेयता दुईवटा नगरसभा भएका छन् भने १६ पटक कार्यपालिका बैठक बसेको छ। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एउटै भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समिति संयोजक खत्रीले बताए।

प्रशासकीय अधिकृतसँग मिलेर बढी रकमको बिल बनाएको होटल सञ्चालकहरुले बताएको खत्रीले सुनाए। एक वर्ष नबित्दै यति ठूलो रकमको बिल आएपछि आफूहरु चकित भएको जनप्रतिनिधिले बताएका छन्।

लेखा फाँटमा ठूलो बिल पुगेर धेरैजसो रकम भुक्तानी भइसकेपछि मात्र आफूहरुले थाहा पाएको वडाध्यक्ष खत्रीले बताए।

छेडागाडका नगरप्रमुख रत्नबहादुर खड्काले ठूलो रकमको बिल आएको र छानबिन जारी रहेको बताए। ठूलै घोटाला भएको अनुमान छ।

फेक बिल बनाएको शंका लागेकै कारण छानबिन समिति बनाएर काम भइरहेको छ,उनले भने। नक्कली बिल बनाएर विवादमा मुछिएका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायसँग भने सम्पर्क हुन सकेन।

यस बारे हामीले थप बुझ्न माे नं .9868018703/9858089517 मा राेकायालाइ फाेन गर्दा दुइ वटै माेवाइल अफ गरेर बसेकाे पाइएकाे छ।