उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ।

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो।

सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

ठाउँ ठाउँबाट टिकट बुक गर्ने, सवारी साधनहरु छुट्ने, जथाभावी पार्किङ गर्ने तथा जहाँ पायो त्यहीबाट यात्रु चढाउने र ओराल्ने गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन लथालिङ्ग भएकाले सरोकारवालाहरुसँगको छलफलबाट यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाई छ।

यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न निषेध गरिएको पनि महानगरले बताएको छ।