रास्वपाका सांसदलाई जरिवाना नगर्न अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई जरिवाना नगर्न निर्वाचन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सोमबार उच्च अदालतले निर्वाचन खर्चको विवरण नबुझाएका रास्वपाका सांसदहरू सोविता गौतम,विराजभक्त श्रेष्ठ,शिशिर खनाल र गणेश पराजुलीलाई जरिवाना नगर्न निर्वाचन आयोगका नाममा अल्पकालीन आदेश जारी गरेको हो।

निर्वाचन खर्चको विवरण निर्वाचन आयोग मातहतका कार्यालयमा बुझाएर सार्वजनिक गर्दा पनि १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध रास्वपाका सांसदहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

अन्तरिम आदेशका लागि छलफल गर्न उच्च अदालतले निर्वाचन आयोग र रिट निवेदकलाई साउन २२ गते बोलाएको छ।

रास्वपाका सांसदहरूले निर्वाचन आयोगले साउन ९ गते प्रकाशित गरेको सूचना गैरकानुनी, क्षेत्राधिकारविहीन, स्वेच्छाचारी, अतार्किक रहेको भन्दै जरिवानासम्बन्धी निर्णयविरुद्ध उत्प्रेरणा, प्रतिषेध तथा परमादेश माग गरेका थिए।