नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए।