नेपाल टेलिकमले ग-यो उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

काठमाडौँ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा शुरु गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गतिको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।

हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो।

सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध छन्। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुने टेलिकमले जनाएको छ।

प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा ०।५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ।

प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ। यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेट टप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ।

टेलिकमका अनुसार ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था टेलिकमले गरेको छ।

हाल काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको र व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने टेलिकमले विश्वास रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन्।