शिक्षा विधेयकमा आपत्ति जनाउँदै महासङ्घले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई संशोधन गर्न १८ बुँदे मागसहित काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

शिक्षक र विद्यालयका कर्मचारीको मूलभूत मुद्दाहरुलाई सम्बोधन नगरीकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिए।

तुलाधरले शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको बताए। उनले ऐनमा संघ सरकारले शिक्षकको तलव भत्ता सुनिश्चित गरेपनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाए।

तुलाधरले एउटा पालीकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरु ऐनमा उल्लेख भएको भन्दै यो विषय संशोधन हुनुपर्ने बताए। उनले पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने बताए।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरुको आरोप छ।