एसियाडमा नेपाली महिला राष्ट्रिय टोली आज बंगलादेशको सामना गर्दै

काठमाडौं। चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आज नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको सामना गर्दैछ।

समूह ‘डी’मा यि दुबै टालीले अन्तिम खेलमा एकअर्काको सामना गर्दैछन्। दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लागि हुनेछ। खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेशको पनि एसियाड यात्रा सुखद हुन सकेन। पहिलो खेलमा जापानसँग ८–० हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल ६–१ ले गुमाएको थियो।

विगतमा बंगलदेशमाथि हाबी हुने गरेको नेपाली टोलीले पछिल्ला ३ खेलमा भने जित निकाल्न सकेको छैन। गत वर्ष दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलल खेल ३–१ ले गुमाएको नेपालले त्यसपछिका दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको थियो।