जुम्लामा नक्सा पास नगरी पक्की घर बनाउन नपाइने

जुम्ला। जुम्लाको तिला गाउँपालिकामा नक्सा पास नगरी घर बनाउन नपाइने भएको छ। अबदेखि पक्की घर बनाउन अनिवार्यरुपमा नक्सा पास गर्नुपर्ने भएको छ।

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीमा कँडेलले जानकारी दिनुभयो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह पनि गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भन्नुभयो, ‘यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन। म कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि पारित गरी यस्तो व्यवस्था गरिएको हो।

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवनको निर्माण शुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि यस्तो व्यवस्था गरिएको हो। यसो गर्न नौवटै वडालाई परिपत्र गरिएको छ। नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ।

गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो। नक्सा पास गरिसकेपछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु पनि लागू गरिएको छ।