फोहोर र प्रदूषणको केन्द्र बन्यो काठमाडौं उपत्यका, शहर व्यवस्थित र सुन्दर बनाउन जनप्रतिनिधिहरुसँग छैन् योजना?

पछिल्लो केही समययता राज्य सञ्चालकहरु विदेश जाने क्रम बढेको छ । मुलुकमा विदेश भ्रमणमा जाने लहर चलेको छ। सांसददेखि लिएर स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट विदेश भ्रमणमा पुगेका छन्। कोही अध्ययन त कोही कार्यक्रममा सहभागी हुन विदेश गइरहेका छन् । उनीहरु त्यहाँ घुम्छन्, हेर्छन् तर त्यहाँ बुझेका कुराहरु यहाँ कार्यान्वयन गर्दैनन्।

अन्य मुलुकको विकासबाट हाम्रा जनप्रतिनिधिहरुले किन केही सिक्दैनन् ? काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरु कार्यक्रमका लागि विभिन्न मुलुक पुगिसकेका छन्। उनीहरुले धेरै मुलुकको विकास नियालिसकेका छन् । तैपनि उनीहरुलाई कुनै प्रभाव परेको छैन् । काठमाडौं उपत्यका नाम मात्रको उपत्यका बनेको छ । अव्यवस्थित शहर र जताततै फोहोर । न फोहोर व्यवस्थापन गर्न सकिएको छ न पानीको पाइपहरु व्यवस्थित छ।

सडकमै ढल फुटेर यत्रतत्र फोहोर भएको हुन्छ । तर, सरोकारवाला निकायलाई मतलब छैन् । पानीको पाइप र ढल खन्ने नाममा सडक खाल्डाखुल्डी बनाएर छोडिएको छ। साँघुरा फुटपाथ, त्यहीमाथि पसल। सडककै छेउमा वर्कसप सञ्चालन गरिएको छ।

तारहरु लत्रिएको अवस्थामा छ। कतै पोलहरु भाच्चिएका छन् त कतै खम्बा ढलेर बसेको छ। बाटोको छेउमा सिसै सिसा भएको घरहरु ठड्याइएको छ। होर्डिङ बोर्डले शहर कुरुप बनाएको छ।

अस्तव्यस्त बसोबासका कारण काठमाडौं उपत्यकाका मुलुककै दुर्गन्धित शहर बनेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा दुई पटक मेयरमा निर्वाचित भइसकेका छन्। यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेर मेयर बनेका थिए ।

ललितपुर महानगरको प्रहरी बलको प्रमुखमा सिताराम हाँछ्थु छन्। मेयर र प्रहरी प्रमुख मिडियाबाजी मात्र गर्छन्। हप्तैपिच्छे पत्रकार सम्मेलन गरेर मिडियाबाजी गर्ने अनि कामचाँहि केही नगर्ने। मेयर महर्जन न सार्वजनिक, गुठी, सरकारी जग्गा खोजतलास गर्छन् न शहर व्यवस्थापनतर्फ नै ध्यान दिन्छन्। काठमाडौं महानगरपालिकाका प्रहरी पनि सुस्ताउँदै गएका छन्।

काम गर्नुको साटो कुनै बाटोमा गफ ठोकेर बसेका हुन्छन् त कुनै मोबाइल चलाएर। महानगर प्रहरीले शुरुवातमा जसरी काम गरिरहेको थियो, अहिले त्यसको आधा पनि गर्दैनन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाको घर सल्लाघारीमा छ। सल्लाघारीमा बिहान र बेलुका पैदलयात्रीलाई निकै सास्ती हुन्छ । फुटपाथ व्यापारीका कारणले पैदलयात्रीहरु सडकको बीचबाट हिँड्न बाध्य छन्।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा त्यही बाटो हुँदै बिहान र बेलुका कार्यालय आउजाउ गर्छन्। तर, उनको त्यसतर्फ ध्यान जाँदैन्। फुटपाथ हटाउन उनले निर्देशन दिदैनन्। नगरपालिकाका वडाका वडाध्यक्षहरु फुटपाथ व्यवस्थापन गर्न र पैदलयात्रीलाई सहज रुपमा हिँड्ने वातावरण बनाउन चासो देखाउँदैनन्। मेयर थापा आफैं जग्गा दलाली हुन्।

अधिकांश वडाध्यक्ष पनि जग्गा दलाल नै हुन् । कहाँ सरकारी र गुठीको जग्गा छ भनेर खोज्दै हिँड्नेहरुले नगरपालिकाभित्रको समस्याबारे के जानकारी राख्थें। नगरपालिकाले राखेको प्रहरीहरु एक नम्बरको ‘काम चोर’ छन्। ११ बजे स्कुटर र मोटरसाइकल चढेर कार्यालय आउँछन्। २ बजे टाप कसिहाल्छन्। उनीहरुले काम गरेको सर्वसाधारणले आजसम्म देखेका छैनन्।

बसिबसि जनताले तिरेके कर पचाउने काम भइरहेको छ। नगरप्रहरी नै सरकारी गाडी चढ्छन्, अरु त के कुरा गर्नु। आफ्नो नगर क्षेत्रभित्र के भइरहेको छ ? कहाँ सुधार गर्नुपर्ने छ ? जनप्रतिनिधिहरुलाई मतलब नै छैन्। जाडु, कुचोलगायतका सरसफाइका सामानहरु बोकेर हिँड्नुपर्ने नगरप्रहरी स्कुटर र मोटरसाइकलमा हुइकिन्छन्। सडक छेउमा पेट्रोल पम्प छ।

इन्धन हाल्नका लागि गाडीको लाम मुख्य सडकसम्म आइपुगेको हुन्छ। सडक छेउछाउ जथाभावी गाडी पार्क गरिएको हुन्छ। सडक मिचेर घर बनाएको छ। त्यस्ता घर पनि पालिकाहरुले भत्काउन सकेको छैन्। जनप्रतिनिधिहरु केही नै गर्दैनन्। दिन कटाउने र माना पचाउने काम मात्र भइरहेको छ। पछिल्लो समय बस्ती ह्वात्तै बढेको छ। शहर घरैघरले भरिपूर्ण छ।

घनाबस्तीका बीच ग्याँसको डिपो राखिएको छ। पेट्रोल पम्प राखिएको छ। केही कारणबस् आगलागी भइहाल्यो भने पालिकाहरुसँग दमकल पनि छैन्।

उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट काम लिएर आएका सर्वसाधारणहरु काठमाडौंमा एकछिन पनि बस्न नसक्ने बताउँछन्। प्रदूषणका कारण श्वास फेर्न गाह्रो हुने उनीहरुको भनाइ छ । माइतीघरदेखि तीनकुनेसम्म बाटोको बीचमा मसिना रुख छन्।

नभए रुख देखिनै छाडिसकेको छ। कहीँ गएर बसिहालौं भनेपनि खाली ठाउँ छैन्। काठमाडौं उपत्यकामा घाम देखिन छोडिसकेको छ। अग्लो घर हुनेले छतमा बसेर घाम ताप्न पाउँछन्। अन्यलाई घामको मुख देख्न पनि गाह्रो छ। सडक विभागले सडक छेउमा पेट्रोल पम्प राख्न लाइसेन्स दियो।

थोरै जग्गामा पेट्रोल पम्प सञ्चालन भएका छन्। यता, पालिका र वडाले थोरै जग्गामा घर बनाउनलाई नक्सा पास गरिदियो।बाटोको छेउछाउ, पेट्रोल पम्प सँगै जोडिएका घरहरु बेच्नेको लर्को छ। तर, कसले किन्ने ? भोलि सरकारले सडक ठूलो बनायो भयो घर जान्छ।

यता, पेट्रोल पम्पको छेउ आगलागी हुने डरले अधिकांशले घर बेच्न खोजिरहेका छन् । भाडाका लागि सडकसँग जोडेर घर बनाइयो। अहिले त्यो घरले समस्यामा पारेको छ । शहर व्यवस्थित कसरी बनाउने ? दुर्घटना कसरी कम गर्ने ? प्रदुषण कसरी कम गर्ने ? शहरलाई कसरी हरियो बनाउने ? पालिकाहरुले योजना त बनाउनुपर्यो।

मुलुकको राजधानी भनिएको छ तर के आधारमा राजधानी भन्ने ? यस्तो अस्तव्यस्त र फोहोर ठाउँलाई शहर भनिन्छ ? जताततै कंक्रिट मात्र छ। हरियो रुखबिरवा देखिनै छोडेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चार आना दुई पैसाभन्दा मूनि जग्गाको कित्ताकाट नहुने निर्णय भएको थियो । त्योभन्दा कम जग्गामा घर बनाउन नदिने भनेर २०७९ जठे ९ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले साढे दुई आना जग्गाको पनि कित्ताकाट हुने निर्णय गरेको छ। गत साउन ३० गतेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। थोरै जग्गामा पनि घर बनाउन पाउने भएपछि शहर झनै अस्तव्यस्त हुने भयो । घर बनाउनेहरुले न खाली जग्गा छोडेका छन् न बाटोलाई जग्गा छोडेका छन् । बाटो मिचेर घर बनाइएको छ।

भूकम्प आयो भने कहाँ गएर बस्ने ? आफ्नो घरमा खाली ठाउँ हुँदैन्, सडकमा बस्ने अवस्था हुँदैन्। घर भत्किएर सबै सडकमा आइहाल्छ। त्यतिबेला खुल्ला ठाउँ खोज्दै टुँडिखेल पुग्नुपर्छ । यस्तो पनि शहर हुन्छ ? बिना योजना बसाइएको शहर घातक हुन सक्छ। अहिले अधिकांशको घरमा पार्किङ छैन्। मोटरसाइकल सडकमा ल्याएर पार्किङ गरिएको पाइन्छ।

अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने काठमाडौंलाई शहर भन्न मिल्दैन्। काठमाडौं हेरि बाहिरका जिल्ला निकै सफासुग्घर र व्यवस्थित छ। जनप्रतिनिधिहरुले तलबभत्ता खाइरहेका छन् तर काम गर्नतर्फ चासो देखाउँदैनन्।

शहर सुन्दर र व्यवस्थित बनाउनु जनप्रतिनिधिहरुको दायित्व हो। यद्यपि, जनप्रतिनिधिहरुले त्यो गर्न सकेनन्। राजधानीमा बस्ती बढेको छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने ? जनप्रतिनिधिहरुसँग भिजन छैन्।

अझैपनि ख्यालख्याल गर्ने हो भने काठमाडौं उपत्यका झनै कुरुप बन्छ। विस्तारै उपत्यका खाली हुन बेर छैन्। किन कि प्रदुषणले उपत्यकामा बस्न नसकिने अवस्था बनेको छ। गाडीहरु धुँवाको मुस्लो फालेर गुडिरहेका हुन्छन्।

वातावरण विभाग, यातायात व्यवस्था विभाग र पालिकाहरुले चेकजाँच गर्दैन् । यस्तो ठाउँमा बसोबास गर्ने आम नागरिकले आफूलाई सुकिलामुकिला भन्न सुहाउँछ ?