यू–१९ विश्वकप क्रिकेटको १५ औं संस्करण आजदेखि,नेपालसहित १६ टोलीको सहभागिता

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो। त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ। यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।