शितलहरबाट बचाउन सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सुनसरी। पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन्।

गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन्।

सांसद चौधरीले शुक्रबार बर्जु वडा नं.४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन्।

नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रुपान्तरण र समाजमा ब्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शितलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन्।

सुनसरी क्षेत्र नं.३ को विकासमा आफु सदैव लागि पर्ने बताउँदै बर्जु, गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा आफुले पहल गरिरहेको पनि बताइन्।

केही समय अगाडी सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको समेत चौधरीले बताइन्।

सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरुमा भए गरेका कार्य प्रगतिको आफुले अनुगमन र मुल्यांकन गरिरहेको पनि जनाइन्। साथै, उनले उक्त योजना र विकास निर्माणका कार्यहरूमा कुनैपनि ढिलाइ हुन नहुने जिकीर गरिन्।

सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए।

चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं. ८ हरिजनवस्ती, सोनापुरको मुसहरवस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन्।