सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा आवेदन खुल्यो

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ। त्यसैले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एकै दिन सार्वजनिक सूचना जारी गरी इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ।

दुवै विश्वविद्यालयको भीसीका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ। आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ।

गत मंगलबार शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि विज्ञापन गरिसकेको छ।