वाफ च्याम्पियनसिप: लेबनानविरुद्ध जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं। लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे। त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो। ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो।

तर, ७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल लयमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकमाथि ५–० गोलको सजिलो जित हात पारेको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।