सत्ताका भुक्तभोगीहरुलाई देश र जनताको के मतलब ?

 २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । निर्वाचन गराउने शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । राजनीतिक दलहरु गठबन्धन गरेर भोट माग्न जनताको घरदैलो पुगे । जनताले नेपाली काँग्रेसलाई ८९, नेकपा एमालेलाई ७८ र नेकपा माओवादी केन्द्रलाई ३२ सिट दिए।

माओवादी काँग्रेसबाट गठबन्धन गरेर जनताको घरदैलोमा गएको थियो । तर, माओवादीलाई जनताले पत्याएनन् । जसले गर्दा ३२ सिटमै माओवादी सीमित रह्यो । चुनावपछि काँग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिने भन्नेबित्तिकै अध्यक्ष प्रचण्ड एमालेको अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको बार्दलीमा पुगे।

ओलीले उनलाई प्रधानमन्त्रीमा समर्थन गरे । २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको केही महिनामै उनले एमालेलाई धोका दिए । फागुन १५ गते एमाले सरकारबाट बाहिरियो । काँग्रेस सरकारमा गयो । प्रचण्ड प्रधानमन्त्री भएको १४ महिना भयो । तर, सम्झिनेलायक एउटा पनि काम गरेका छैनन् ।

मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ भन्ने कुरा आम सर्वसाधारणलाई राम्रोसँग थाहा छ। अहिले त बैंकहरुमा पनि संकट देखिएको भनि चर्चा चलेको छ । सहकारीको कन्तबिजोर भएको छ भने बचतकर्ताको हरिबिजोग। व्यापार व्यवसाय ठप्प छ । देशमा सानातिनो रोजगारी गरेर बसेकाहरु पनि धमाधम विदेश पलायन भइरहेका छन्।

घरजग्गा, शेयर र गाडीको कारोबारमा मन्दी छाएको छ। सटर, कोठा खाली हुने क्रम बढेको छ। वैदेशिक ऋण निरन्तर उकालो लागिरहेको छ। बेरोजगारी दिनहुँ बढिरहेको छ। काम नपाउँदा सर्वसाधारणलाई जीविकोपार्जन गर्न समस्या परेको छ। मँहगीले सर्वसाधारणको ढाड सेकिएको छ।

एकातिर आम्दानी छैन्, अर्कोतिर आकाशिएको मँहगी । बिहान खाए, बेलुका के खाने ? भन्ने समस्या छ । प्रचण्डको क्षमता सर्वसाधारणले देखिसकेका छन्। उनीसँग देश चलाउन कुनै योजना नै छैन् । पदको भुक्तभोगी उनी जनताप्रति अलिकति पनि जिम्मेवार छैनन्। २०५२ सालमा जनयुद्द शुरु गर्दाका कमाण्डर र अहिले देशको कमाण्डर उनीबाट केही परिवर्तन होला ? भन्ने जनताको मनमा परेको छ।

जनता उनलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने भनिरहेका छन् । आफूले काम गर्न नसकेपछि उनले नयाँ योजना बुनेका छन् । मन्त्रीहरुको टाउकोमा दोष थुपारेर उनी पन्छिएका छन् । काँग्रेससँग गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गएर जोडिएका छन् । अबका पनि प्रधानमन्त्री उनी नै हुन् ।

जबकी सर्वसाधारण उनीप्रति सन्तुष्ट छैनन् । जनताले उनलाई प्रधानमन्त्रीमा हटाउनुपर्ने बताउँदै गर्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उनलाई प्रधानमन्त्रीमा समर्थन गरिरहेका छन् । अहिले देशमा के भइरहेको छ ? जनताले के खोजिरहेका छन् ? भन्ने तिनलाई थाहा छैन् ?

कहिले यता टाँसिने, कहिले उता टाँसिने अनि जसरी हुन्छ प्रधानमन्त्री बनिरहने प्रचण्डको दाउ हो । प्रचण्डकै पछाडि लाग्दा माओवादीको पत्तासाफ हुने देखिएको छ। यस्तै पारा रह्यो भने माओवादीलाई अर्को चुनावमा धाउधाउ छ । ओली र रवि लामिछाने केही दिनअघिसम्म मिसनमा थिए।

२०८४ सालको चुनावमा आफ्नो पार्टी पहिलो बन्ने भन्दै उनीहरु गाउँगाउँ गएका थिए । सरकारमा नजाने भन्दै आएका लामिछानेलाई अहिले भागदौड गरेर भ्याइनभ्याइ भएको छ । नयाँ गठबन्धन बन्दा सबैभन्दा धेरै खुसी उनी नै छन् । उनले छेपारोभन्दा छिटो रंग फेर्दो रहेछन् भन्ने त स्पष्ट भइहाल्यो।

लामिछानेमाथि यतिबेला सिआईबीले अनुसन्धान गरिरहेको छ । जीबी राईसँग मिलेर बचतकर्ताको बिल्लीबाठ बनाएको आरोप उनीमाथि लागेको छ। सहकारी काण्डमा आफू बच्नका लागि लामिछानेलाई सरकारमा जान हतारो भएको जनताले थाहा पाइसकेका छन् । एमाले पनि जनताबाट खच्किँदै गएको छ।

ओलीको दाहिने हात महेश बस्नेत केटी काण्डमा मुछिएका छन् । अन्य नेतामाथि पनि यस्तै आरोप लागेको छ । एमाले प्रत्येक दिन नङ्गिँदै छ । सबैतिरबाट बद्नाम पार्टी सरकारमा गएको छ । पार्टीहरुको काण्ड राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा छताछुल्ल छ । सबै पार्टी मिलाएर बल्लतल्ल सरकार बनेको छ।

यस्तो पार्टीलाई कसले पत्याउने ? यहाँ जनताले तिरेको करबाट सरकारी खर्च धान्न नसक्ने अवस्था बनेको छ । राजश्व उठ्न कम भइसकेको छ। विदेशी ऋण लिएर खर्च धानिएको छ । अब विदेशीले ऋण पनि पत्याउँदैन्, अनुदान पनि दिँदैनन् । कतिपय स्थानीय तहका कर्मचारीहरु तलब पाएका छैनन्।

ज्येष्ठ नागरिक, एकल महिलाहरुले पनि भत्ता नपाएको भनि बजारमा गाइँगुइ चलेको छ । मालपोत र यातायात कार्यालय सुनशान छ । घरजग्गा कारोबार ठप्पजस्तै छ । जहिले पनि भीडभाड हुने यातायात कार्यालय अहिले चनमन्न छ । पाँच सय र हजारको नोट व्यक्तिहरुले घरमा लुकाइसकेका छन् ।

नेपालमा व्यापार गर्ने माडेहरुले पैसा आफ्नो देशमा लगिसके । देश कुन अवस्थाबाट गुज्रिरहेको छ ? सरकारमा जानेहरुलाई थाहा छैन् । जसरी हुन्छ, सरकारमा जाने अनि खाइरहने । जनताप्रति कुनै राजनीतिक दल जवाफदेही छैनन् । एउटा सफा टेम्पो चलाउने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएपछि यस्तो अवस्था बन्नु स्वाभाविकै हो ।

जनताले तिरेको करले विदेशी ऋणको साँवाब्याज तिर्न पुग्दैन् । स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि, बहालवाला सरकारी कर्मचारी, भूपू कर्मचारीलाई तलबभत्ता र पेन्सन दिनैपर्यो । ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई दिने भत्ता छुट्टै छ । स्रोत केही पनि छैन्, खर्च बढेको बढ्यै ।

खर्च कसरी धान्ने ? भन्ने योजना सरकारमा बस्नेहरुसँग छैन् । सरकारले पाँच वटा क्षेत्रबाट ठूलो राजश्व संकलन गथ्र्यो । पहिलोः रेमिट्यान्स, दोस्रोः भन्सार, तेस्रोः घरजग्गा, चौथों यातायात, पाँचौंः शेयर । विदेशी रेमिट्यान्स आइरहेको छ तर अन्य क्षेत्रमा पूरै मन्दी छ । यहाँबाट उठ्ने राजश्व ह्वात्तै घटेको छ ।

अब जनता झनझन् आक्रोशित हुँदै जान्छन् । किन कि प्रचण्डलाई देश र जनताको माया छैन्, प्रधानमन्त्री पद बचाउन सक्छु कि सक्दिन ? यति मात्र छ । ओली आफैं बिरामी छन् । सदनमा उभिन नसक्दा कुर्सीमा बसेर भाषण गर्नुपर्छ । लामिछाने सर्वत्र काण्डले घेरिएका छन् ।

उनीमाथि एकपछि अर्को काण्ड लाग्छ, त्यही सल्टाउँदै ठिक्क हुन्छ । प्रचण्ड आफैंलाई पारिवारिक तनाव छ । अनि यस्ता व्यक्तिले अबपनि हामी केही गर्छौं भनेर कतिञ्जेल जनतालाई भ्रमित बनाउने ? प्रचण्डले अति गरेका छन्, यसले खति निम्त्याउन सक्छ । अरुलाई पनि पद नदिने, आफू पनि काम नगर्ने ।

माओवादीले पहिल्यैदेखि आचरणः धम्काउने, तर्साउने, थर्काउने अनि केही भएन् भने सम्झौता गर्ने । भूमिगतको पालाको बानी व्यवहार माओवादीले अहिले पनि छोड्न सकेको छैन्। २०६४ सालको चुनावमा १२१ क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेको पार्टी अहिले कुन अवस्थामा छ ? सबैले मूल्याङ्कन गरेका छन्।

माओवादी ‘घर न घाट’ को अवस्थामा छ। त्यो के कारणले भएको हो ? भन्ने त सबैले बुझेका छन् । हिजो त्यत्रो जनयुद्धको नेतृत्व गरेका व्यक्तिले आज केही गर्न सकेका छैनन्। उनी नै प्रधानमन्त्री भएको बेला देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ । माओवादीलाई मान्छेको ज्यानसँग कुनै मतलब छैन्।

हिजो माओवादीले गरेको ज्यादतीले पनि देखिसकेको छ। त्यही पार्टीका हर्ताकर्ता सरकारमा छन्। अनि तिनलाई के देश र जनताको माया ?

काँग्रेस र एमाले माओवादीलाई देख्नै हुँदैनथ्यो। त्यही पार्टीसँग काँग्रेस र एमाले दुवैले सम्झौता गरेका छन्। यस्ता पार्टीमाथि जनताले कसरी विश्वास गर्ने ? यिनीहरुलाई कुर्सीमा राख्नु देश बर्बाद बनाउनु हो।