बागमती सरकारबाट कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा

काठमाडाैं। बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो।

सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा,उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार,स्वास्थ्य मन्त्री उत्तम जोशी,वन तथा वातावरण मन्त्री मसिना खड्का,संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा गत चैत २५ गते नियुक्त भएका थिए भने स्वास्थ्य मन्त्री जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जन, वन मन्त्री मसिना खड्का र उद्योग वाणिज्य तथा प्रशासन मन्त्री चित्रकार गत जेठ ७ गते मन्त्री नियुक्त भएका थिए।

उनीहरूले मुख्यमन्त्री कार्यालय हेटौँडामा उपस्थित भएर राजीनामा दिएका हुन्। राजीनामा बुझाउने क्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने उपस्थिति भएनन्। संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकारबाट बाहिरिएसँगै कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने  तयारी गरिरएको छ।