सुदूरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरियो

धनगढी। सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी)पार्टी पनि बाहिरिएको छ।संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँद‌ै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो।

समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन्।

शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन्। चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ।

अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ। जबकि सरकार जोगाउन २७ जनाको समर्थन चाहिन्छ।

नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन्। संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताउँछन्।