पाँच दलीय गठबन्धनलाई समर्थन गर्न साना दलहरुलाई एमालेको आग्रह

काठमाडौं । प्रमुख सत्ता घटक नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ। शुक्रबार विहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो।

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,’ महासचिव शंकर पोखरेलले भने, ‘प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दल (एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी) मा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ। यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ।

सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ थियो। मुलुकको सङ्कटको अवस्थाबाट पार लाउन जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए।