माधव नेपाल १३ महिना प्रधानमन्त्री बन्ने

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन्। गलबार बिहान बालुवाटारमा मोवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष नेपालबीच भएको छलफलका क्रममा उनी प्रधानमन्त्री बन्ने सहमति भएको हो।

बालुवाटार स्रोतका अनुसार उक्त छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने मौखिक सहमति भएको छ। सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन्। बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ।

‘यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो। यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन। अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ।

तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन्। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए।

प्रचण्ड, ओली र नेपाल क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ।