छात्रालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

विराटनगर। होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी रहेकी छन्। उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो।

रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन्। रेग्मीले छात्रामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ।

रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन्।

दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन्।

होस्टेलमा फागुन ३ गतेदेखि उनीहरू बसिरहेका थिए। उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएको बताएका छन्।

उनीहरू बुधवारदेखि नै मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए। ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए।

त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन्। मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए। त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीलाई आफ्नै होस्टलमा लगेको छ। विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताइन्।