हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।