होली खेल्ने नाममा अरुलाई दुःख नदिऔं,कानुनको पूर्ण पालना गरौं

नेपालीमा एउटा उखान छ,दशा बजाएर आउँदैन्।’थोरै गल्तीले आफ्नो ज्यान पनि जान सक्छ वा प्रहरीको कठघरामा पनि पुग्न सकिन्छ। भोलि फागूपूर्णिमा अर्थात होली पर्व हो। पहाडमा भोलि र तराईमा पर्सि होली खेलिन्छ। चाडपर्व नेपालीको परम्परा हो। नेपालीले धुमधामसँग चाडपर्व मनाउँदै आएका छन्।

तर,पछिल्लो समय चाडपर्वको नाममा तडकभडक गर्ने,उच्छृङ्कन क्रियाकलाप गर्ने क्रम बढेको छ। सरकारले सभ्य र मर्यादित भएर चाडपर्व मनाउन आग्रह गरेपनि कसैले टेरपुच्छर मानेका छैनन्। जसका कारण जनधनकै क्षति हुँदै आएको छ। होली रंगको पर्व हो।

एकअर्कामा रंग र पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ होली मनाइन्छ। होली मनाउँदा आफ्नो परिवार, साथीभाइ वा आफन्तसँग मात्र मनाउन सरकारले आग्रह गरेको छ।

घरको छतमा बसेर होली नखेल्ने, बाटो हिँड्नेलाई पानीको फोहोरा नहान्न, होली खेल्ने क्रममा मँहगा गरगहना नलगाउन, मादक पदार्थ सेवन गरेर सामाजिक शान्तिसुरक्षा खलल नपार्ने आम सर्वसाधारणलाई सूचित गराइएको छ।

विगतको वर्षलाई हेर्ने हो भने होली खेल्ने क्रममा धेरैको ज्यान गएको छ। छतमा बसेर होली खेल्दा त्यहाँबाट लडेर ज्यान नै गुमाउनुपरेकोसम्म घटना छ। होली खेल्ने नाममा विकृति भित्रिएको छ। जबरजस्ती रंग हालिदिने, रंगमा विभिन्न केमिकल,मोबिल मिसाएर दलिदिने, मर्नेगरी लोलाले हिर्काउने कार्य भइरहेको छ।

 साँध्ने राम्रो माध्यम पछिल्लो समय होली बनेको छ। रंगमा खुर्सानी मिसाएर दलिदिन्छन्, कसले दल्यो थाहा हुँदैन्। होली हो भन्दैमा बाटो हिँड्नेमाथि पानी खन्याउन पाइँदैन्। यो गैरकानुनी हो। सामाजिक शान्तिसुरक्षाविपरीतको कसूरमा प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सक्छ।

कोही अस्पताल हिँडेको हुन्छ, कोही काममा। कसैलाई कतै पुग्न हतारो भएको हुन्छ । छतमा बसेर पानी खन्याउनेलाई एकछिनमा मज्जा होला, तर कतै पुग्न हिँडेको व्यक्तिलाई त नमज्जा हुन्छ। लुगा फेर्न घर फर्किऊ ढिलो भइरहेको हुन्छ, नफेरौं चिसो लुगामा कसरी जाऊँ भन्ने हुन्छ ।

त्यसैले कसैलाई पनि यस्तो अवस्थामा नपारिदिऊँ । होली भनेर मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सवारी साधन चलाउने कार्य कसैले पनि नगरौं । सानो निहुँले अहिले एकले अर्कोको ज्यान लिइरहेका छन् । त्यसैले सचेत बनौं । आफन्तबीच बसेर जाँडरक्सी खाने अनि सानो निहुँमा झैझगडा गर्ने र कुटाकुट गर्ने ।

एउटा मर्छ, अर्को जेल जान्छ। मदिराको नशाले छोडेपछि मैले गल्ती गरेछु भनेर के फाइदा ? घटना घटिसकेको हुन्छ । होली भन्दैमा हेल्मेट नलगाई सवारी चलाउने छुट छैन्। पहिले आफ्नो ज्यानको ख्याल गरौं। मदिरा सेवन गरेर सवारी हुइँकाउने काम कसैले पनि नगरौं । यतिबेला बजारमा व्यापक कालोबजारी देखिएको छ।

सय रुपैयाँ नपर्ने होलीका टिसर्ट व्यापारीहरुले पाँच सयसम्ममा बेचिरहेका छन्। रंग, पिचकारीहरु पनि त्यस्तै। तर, बजार अनुगमन भने शून्य देखिएको छ। हामी नेपालीमा मानवता हराउँदै गएको छ। अघिपछि कुनै बटुवाले पिउने पानी मागे भने हामी दिँदैनौं। भनिन्छ नि,‘प्यासीलाई पानी खुवाउनु धर्म हो।

भोलिको कुरा गरौं, पानी नमागेपनि बाटो हिँड्नेलाई बाल्टिनको बाल्टिन खन्याउँछौं। यो त गैरजिम्मेवारी कार्य हो नि,होइन् र ? कसैलाई पिउने पानी दिन हामीलाई लोभ लाग्छ। तर, कसैलाई दुःख दिनचाँहि हामीलाई मज्जा आउँछ। हामी नेपालीले के सिक्दै छौं ? कोही घरमा माग्न आए भने हामी लखेट्छौं।

घरभित्रबाट बाहिर निस्कदैनौं। यद्यपि, चाडपर्वको नाममा हामी फोगट्टेको खर्च गर्छौं। मदिरा सेवन गर्ने पैसाले कुनै बालबालिकालाई कापीकिताब किनिदियो भने उनीहरुले पढ्न त पाउँछन्। चाडपर्वमा फाल्टो खर्च गर्न होइन्, दुःखी गरिबलाई सहयोग गर्नुपर्छ भनि बुवाआमाले आफ्नो बालबालिकालाई सिकाउनुपर्छ।

पिचकारीको के काम ? होलीमा एकदिन प्रयोग हुन्छ, त्यसपछि थन्किन्छ। त्यसले कसैलाई कापीकलम किनिदियो भने उनीहरुलाई महिनाभर लेख्न हुन्छ। कति बालबालिकासँग कापीकलम किन्ने पैसा छैन्। फोगट्टे खर्च गर्ने पैसा वृद्धाश्रममा लगेर दिऊँ। त्यहाँ भएका वृद्धवृद्धाले एकछाक भएपनि मिठोमसिनो खान पाउँछन्।

ज्यानभन्दा ठूलो केही छैन्। एकछिनको रमाइलो जिन्दगीभरको लागि अमिलो बनिदिन सक्छ। त्यसैले होस् पुर्याऔं। अभिभावकले आफ्ना छोराछोरीलाई छतमा,बार्दलीमा,भर्याङ्गमा होली खेल्न दिनुहुँदैन्। कानुनमा कसैको इच्छाविपरीत रंग लगाउन, पानी हाल्न पाइँदैन्। त्यसो गरेमा कैद र जरिवाना हुन्छ।

कतिपयलाई कानुनबारे जानकारी नहुन सक्छ । एकछिनको गल्तीले पछुताउनबाहेकको अन्य विकल्प नरहन सक्छ। त्यसैले कानुनबारे जानेर, बुझेर मात्र होली खेलौं। सचेत नागरिकले आफ्नो परिवारलाई पनि सिकाउँछ, आफूबाट दुर्घटनाबाट जोगिन्छ। यता, व्यापारीहरुले पनि व्यापार मात्र हेर्नुहुँदैन्।

समाजप्रति जिम्मेवार हुनुपर्छ । पैसा कमाउनु मात्र व्यापार होइन् भनेर व्यापारीले बुझ्नुपर्छ। सर्वसाधारणले कानुनलाई हल्कामा लिएका छन्। मलाई कसले के गर्छ ? भन्ने भ्रम सर्वसाधारणमा छ। तर, यहाँ कानुन पनि छ, प्रहरी पनि छ। छिरिक्क घटना मात्र घट्नुपर्छ, कानुन भोग्दाभोग्दै जिन्दगी सकिन्छ।

सरकारले प्रत्येक घरघरमा गएर नागरिकलाई सचेत गराउन सक्दैन्। घटना घटेपछि दोषीलाई समातिन्छ, कानुनी प्रक्रिया अघि बढाइन्छ। कुनै व्यक्ति कानुनभन्दा माथि छैन्। आफूले रमाइलो गर्दा अन्यको हकअधिकार मिच्न पाइँदैन्। विडम्बना, शिक्षित व्यक्तिहरुले नै कानुनलाई ख्यालख्याल सोचिरहेका छन्।

नपढेकालाई त झन् के थाहा ? घटना घटिसकेपछि रोएर, कराएर के फाइदा ? हुने भइसकेको हुन्छ । होली भोलि छ तर महिनादिन अघिदेखि नै होली मनाउन शुरु भएको छ । विद्यार्थीहरु अनुहारभरी, ड्रेसभरी अबिर दलेर बाटोमा हिँडेको देखिन्छ । शिक्षकहरु पनि रंगमा पोतिएर हिँडेका हुन्छन्।

होली खेल्नुपर्छ तर कहिले खेल्ने, कसरी खेल्ने भन्ने कुरा आउँछ। मान्छे जन्मिनुअगाडि जन्मदिन त मनाइँदैन्। अनि महिनादिन अघिदेखि नै होली खेल्न सुहाउँछ ? पढ्ने थलोमा मनलाग्दी छ अहिले। बच्चा काँचो माटो हुन्। उनीहरुलाई जस्तो सिक दियो, त्यस्तै सिक्छन्।

गल्ती गरेभने यो गल्ती हो है भन्दिहाल्नुपर्छ। बालबालिकाका लागि आफ्नो अभिभावकपछिको दोस्रो अभिभावक शिक्षकशिक्षिका हुन्। त्यस्तै, दोस्रो घर विद्यालय। घरपछि सबैभन्दा धेरै समय बालबालिकाले विद्यालयमा बिताउँछन्। शिक्षकशिक्षिकाले त उनीहरुलाई ज्ञान दिनुपर्छ।

चाडपर्वको संरक्षण गर्न हरेक नेपालीको दायित्व हो। तर, चाडपर्व भन्दैमा जे मनलाग्यो, त्यही गर्न त पाइएन्। हरेक चीजको एउटा दायरा हुन्छ। विडम्बना, शिक्षकशिक्षिकाले विद्यार्थीलाई यो कुरा सिकाउन सकेनन्। घोकन्ते पढाइमा आधारित हाम्रो शिक्षाले बालबालिकालाई राम्रो मानव बनाउन सकेको छैन्।

बुढापाकाले अहिलेपनि भन्छन्,अनिकालमा बिऊ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु।बुढापाकाले भनेको यी कुरा जीवनको यथार्थ हो। मान्छे मरेपछि फर्किएर आउँदैन्। अकालमा ज्यान गुमाउनुको पीडा असह्य हुन्छ। त्यसैले बेलैमा सचेत बन्नुपर्छ। आर्थिक मन्दीले अहिले धेरैलाई समस्यामा पारेको छ।

काम नहुँदा कतिपयलाई बिहानबेलुकाको छाक टार्नै समस्या भएको छ । आफ्नो बालबच्चाको स्कुलको फिस तिर्न सकेका छैनन्। पैसा नभएर कतिपय रोग पालेर बसेका छन्। हामी नागरिकको ध्यान त्यता गए कति राम्रो हुन्थ्यो । सबै जिम्मेवारी राज्यको मात्र हुँदैन्। नागरिकले पनि जिम्मेवार हुनुपर्छ।

थोपाथोपा मिलेर नदी बन्छ। सहयोग पनि त्यस्तै हो । अलिअलि गरेर सबैले सहयोग गर्यौं भनेर कसैले उपचार पाउँछन्। कसैले खान पाउँछन्। नेपालीले ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने कुरा बुझ्नुपर्छ। राज्यको ऐनकानुनलाई कसैले पनि चुनौती नदिऊँ। सुरक्षाकर्मीहरु पनि चनाखो बनौं। दुर्घटना भएपछि पुगेर के फाइदा ? घटना घट्नुअगाडि नै सचेत बनौं र बनाऔं ।