सहयात्रीलाई हत्कडी र सहकारी ठगीको आरोप लागेका लामिछानेलाई झण्डावाला गाडी दिने प्रचण्डलाई जनताले त सजाय देलान्, पार्टीले कहिले दिने ?

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। प्रधानमन्त्री विश्वमा भइरहेका घटनाबारे जानकारी हुनैपर्छ। तर, हाम्रो देशको प्रधानमन्त्रीलाई विश्वको त कुरै छोडौं, आफ्रनै देशभित्र के भइरहेको छ भनेर थाहा छैन। बजारमा महंगी, कालोबजारीले सीमा नाघिसकेको छ।

लुटपाट, चोरी, ठगी, हत्या, हिंसा पनि हवात्तै बढेका छन्। वित्तिय संस्थाहरु प्रत्येक दिन धरायसी हुँदै गएको छ। केही दिनअघि कास्कीको पोखरामा सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरुले प्रधानमन्त्रीलाई प्रधानमन्त्री बुझाए । ज्ञापनपत्र बुझ्रदा प्रधानमन्त्रीले पीडितहरुलाई सोधे कि कुन सहकारी, कुन व्यक्तिले ठग्यो ?

पीडितहरुले पनि नामै किटेर सूर्यदर्शन सहकारी र हालका गृहमन्त्री रवि लामिछानेले आफुहरुको बचत हिनामिना गरेको बताए । प्रधानमन्त्रीले बिहान पीडितहरुसँग ज्ञापनपत्र बुझे त दिउँसो सदनमा आएर लामिछानेको गुनगान गए । लामिछानेले सहकारीको रकम हिनामिना नगरेको भन्दै अदालतजसरी प्रधानमन्त्रीले सदनबाटै उनीमाथि छानबिन गर्न आवश्यक नरहेको फैसला सुनाए ।

अहिले जनता प्रधानमन्त्रीलाई सोध्छन्, ‘तपाईलाई बिर्सिने बिरामी छ हो ? के तपाईंले पोखरामा पीडितहरुले ज्ञापनपत्र बुझाएको बिर्सिनुभयो ? उनीहरुले लामिछानेको नामै लिएको पनि बिर्सिनुभयो ?बल नभएको व्यक्तिलाई ठुलो भारी दिएमा उसले बोक्नै सक्दैन। त्यसरी नै क्षमता नभएको व्यक्ति प्रधानमन्त्री बनेपछि देशको हित नहुनु र पीडितहरुले पनि न्याय नपाउनु स्वाभाविकै हो।

हुन त उनी आफैंले केही वर्षपछि एक टेलिभिजनमा आफु देशको प्रधानमन्त्री बन्न लायक नभएको बताएका थिए पार्टी, जनता र मिडियाका आफु यहाँसम्म आइपुगेको उनको भनाइ थियो।

अहिले जनता भन्छन्, ‘प्रचण्डसँग वडाध्यक्ष बन्ने समेत क्षमता छैन। वडाध्यक्ष बन्न नसक्ने व्यक्तिलाई जनताले भोट र पार्टीले अक्ष्यक्षमा निरन्तरता दिँदा आज देशको अवस्था दयनीय बनेको छ।

मानिसले कहिले पनि आफ्नो जन्म दिने आमा र जन्मभूमि बिर्सिनुहुन्न । प्रचण्डले त आफुसँगै जनयुद्धमा लडेका साथी कृष्णबहादुर महरालाई आफ्नो पद जोगाउन फसाए। अहिले गृहमन्त्री रवि लामिछाने छन्। उनको पृष्ठभूमि केलाउने हो भने उनी साधारण परिवारमा जन्मिएका वा पेशामा सञ्चारकर्मी थिए।

उनको सम्पत्ति कति छ भनेर भोलि अख्तियार, शुद्धिकरण विभागले छानबिन गर्ला। हिजो पत्रकार भएर राजनीतिक दलहरुको विरोध गरेर भ्याईनभ्याई हुने उनी अहिले आफु गृहमन्त्री भएपछि मिडियामाथि नै अकुँश लगाउन खोजे।

सञ्चारमाध्यमलाई नियन्त्रण लिन खोजेका छन्, उनले । पटकपटक निर्वाचन जितेको, जनयुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको र मन्त्री र सभामुख समेत भइसकेको व्यक्ति (महरा) लाई सुनकाण्डमा टेलिफोन वार्ताकै आधारमा अपराधीजसरी पक्रेर उनी चर्चामा आउन खोजे। आगामी निर्वाचनमा लामिछानेले आफु गृहमन्त्री हुँदा ठूलो माछा (महरा) लाई समातेको भन्दै भोट माग्ने छन्।

बिडम्वना, प्रचण्डले पनि आफ्नो सत्ता जोगाउने आफुसँगै जनयुद्ध लडेको व्यक्तिलाई प्रहरी हिरासतमा पुप्याए । पूर्वप्रधानमनत्री बाबुराम भट्टराईले २०७४ सालमा सदनमै उभिएर भनेका थिए कि सबै पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुको सम्पत्ति छानबिन गरौं। उनले हिजो एक जोर नयाँ कपडा लगाउन नसक्नेहरु आज यत्रो सम्पत्तिको मालिक कसरी बने भन्दै सम्पत्ति छानबिनको माग गरेका थिए।

केही दिनअघि पनि भट्टराईले सबै राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्न माग गरे । अहिले सुनिन्छ कि प्रचण्ड, ओली र देउवाको विदेशी बैंकमा थुप्रै पैसा छ । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मीलगायतको पनि विदेशी बैंकमा पैसा रहेको बताइन्छ ।

नेताहरु भन्छन्, ‘हामीले देश र जनताको लागि राजनीतिक गरेका हौं ।’ तर, नेताहरुको न त जागिर छ न व्यापारव्यवसाय। अनि रोपनी रोपनीमा बनेको घर कसरी आयो ? यो भ्रष्टाचार होइन र ? पैसा लुकाएपनि यीनीहरुले घर लुकाउन सकेनन्। यहाँ जनता र राष्ट्रको लागि आफुहरुले राजनीति गरेको भन्दै आफ्नो धोक्रो भर्ने मात्र काम भइरहेको छ।

देश अरु कसैले होइन, यीनै नेता र कर्मचारीहरुले खोक्रो बनाएका हुन्। सरकारी कर्मचारीहरु आफुलाई राष्ट्रसेवक बताउँछन्। अनि एउटा सरकारी जागिर खाएको व्यक्ति कसरी करोडौं, अर्बोको सम्पत्ति हुन्छ।

सरकारी सेवाको तल्लो तहमा काम गर्ने कर्मचारीको समेत राजधानीमा घडेरी पाइन्छ । यसरी राष्ट्रसेवक, देश र जनताको हितमा काम गरेको भन्दै भ्रष्टाचार गर्ने र सम्पत्ति जोड्ने मात्र गरिँदै आइएको छ।

यता, व्यापारीहरु पनि आफुहरुले राज्यलाई कर तिरेको र सर्वसाधारणलाई रोजगारी दिएको दाबी गर्छन् । तर, नाम चलेकै व्यवसायीहरुमाथि अहिले सरकारी, सार्वजनिक जग्गा हड्पेको आरोप लागेको छ।

कतिपय त दोषी समेत ठहर भएका छन् त कतिपयले हड्पेको जग्गा सरकारकै नममा आएको छ । उद्योग, वाणिज्य महासंघको अध्यक्षमा चन्द ढकाल छन्।

उनी गरिब परिवारमा जन्मिएका व्यक्ति हुन्। तर, आज उनको अर्बोको सम्पत्ति छ। यत्रो सम्पत्ति उनले कसरी जोडे ? उनमाथि पनि छानबिन गर्ने हो भने धेरै सरकारी, सार्वजनिक जग्गा हड्पेको वा दर्ता गरेको बाहिरिने छ। किनकि यहाँ सबै व्यापारीहरु सरकारी, सार्वजनिक सम्पत्ति नै दर्ता वा दोहन गरेर व्यापारी बनेका हुन्।

जनतामा सचेतना जाग्ने हो भने अहिले भएका नेता, कर्मचारी र व्यापारीहरु देशै छोडेर भाग्नुपर्ने हुन्छ। केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल राहदानी नवीकरणका निम्ति त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगे। राजा आफैं राहदानी नवीकरण गर्न आएको देख्दा सर्वसाधारण खुशी भए त त्यहाँस्थित कर्मचारीहरु छक्क परे।

पूर्व राजा र रानीसँग फोटो खिच्न त्यहाँ भएका सर्वसाधारण र कर्मचारीहरुको लाइन नै लाग्यो। अहिले राजनीतिक दलका नेताहरु भ्रष्टाचारमा तानिँदै गएका छन्। मुलुक गम्भिर आर्थिक संकटमा गएको छ। लोकतन्त्र गणतन्त्रका नेताहरु नै भ्रष्टाचारमा संलग्न हुँदा संघीयता कार्यान्वयनमै अन्यौलता पैदा भएको छ।

यता, पूर्वराजा ज्ञानेन्द्र भने जनतासँग घुलमिल भइरहेका छन् । यसले राजतन्त्र फर्किने समेत संकेट देखाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरुलाई समयै सुध्रिन आग्रह गरेको पनि यही कारणले अहिले देखिन्छ।

अहिले रवि लामिछाने नेतृत्वको रास्वपाका नेता तथा कार्यकर्ताहरुले भन्न थालिसके कि हाम्रो पार्टी सभापतिले महरालाई समात्नुभयो। यो ठुलो उपलब्धि हो।

०५२ फागुन १ गते मुलुकमा जनयुद्ध सुरु भयो। जनयुद्ध प्रचण्डको नेतृत्वमा भएको थियो। त्यतिखेर लामिछाने पत्रकार नै थिए तर राजावादी। जनयुद्ध चलिरहेकै बेला ०५८ सालमा आफुलाई नेपालमा बस्न असुरक्षित भएको भन्दै अमेरिका भागे। ०६२÷०६३ सालमा ठूलो जनआन्दोलन भयो। मुलुकबाट राजतन्त्र हट्यो।

यता, कृष्णबहादुर महरा ०५२ सालमै प्रचण्डसँगै भूमिगत गएका थिए। सरकार र माओवादीबीचको वार्ता टोलीमा प्रायजसो माओवादीबाट महरा, बाबुराम भट्टराई र देव गुरुङ नै सहभागी हुन्थे। मुलुकमा राजनीतिक परिवर्तन गर्न उनीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

यद्यपि, हालका गृहमन्त्री लामिछानेको मुलुकमा राजनीतिक परिवर्तनको समयमा केही योगदान पाइदैंन। ०६६ सालमा लामिछानेले नेपाली नागरिकता र राहदानी नै त्यागेर अमेरिकाको नागरिकता र राहदानी दिए।

०७१ सालमा भिजिट भिसामा नेपाल आएका थिए, उनी। घरायसी समस्याका कारण उनी अमेरिका फर्किएनन्। र, नेपालमै बसे। नेपालमा बसेपछि पनि उनले नेपालको कानून मानेनन्। अमेरिकाको नागरिकता र राहदानी त्यागेनन् न त नेपाली नागरिकता लिन सिडियो कार्यालयमा निवेदन नै दिए ।

न्युज २४ मा सिधा कुरा जनता नामक कार्यक्रम चलाएर नेताहरुलाई गर्नुसँग गाली गरे। उफ्रिउफ्रि कराए। आफैंसँग काम गरेका पत्रकार शालिग्राम पुडासैनीलाई सहनै नसक्ने गरी दबाब दिएर आत्महत्या गर्नुपर्ने अवस्थामा पुप्याए। पुडासैनीले मर्नुअघि रुँदै बनाएको भिडियो पनि झासझुस बनाइयो। उनी मरेर गए तर अहिलेसम्म न्याय पाएका छैनन्।

लामिछानेले भने नेपाली नागरिकता नै नलिई पार्टी खोले। यति मात्र नभई ०७९ सालको निर्वाचनमा चितवन क्षेत्रनम्बर २ बाट चुनाव लडे। उनका झुट्टा कुरा पत्याएर उनले जिताए पनि। सरकारमा सहभागी भई गृहमन्त्री समेत बने। तर, पछि सर्वोच्चले उनको पार्टी सभापति,सांसद र गृहमन्त्री पद खारेज गरिदियो।

अनि बल्ल उनले सिडियो कार्यालयमा नेपाली नागरिकता लिन निवेदन दिए । र, नेपाली नागरिकता बनाए। त्यसपछि फेरि चितवनमा निर्वाचन गराउनुपर्ने माग राखे।

निर्वाचन आयोगले पनि जनताले तिरेको कर खर्चिएर निर्वाचन गरायो। उनले फेरि पनि चुनाव जिते। अहिले चितवनकै जनताको सहकारीमार्फत अर्बो रकम हिनामिना गरेको आरोप उनीमाथि छ।

कुनै नागरिकमाथि आरोप लाग्नासाथ प्रहरी उसलाई पक्राउ गर्छ। हिरासतमा राखेर अनुसन्धान गर्छ । तर, यहाँ त अनुसन्धानको दायरामा हुनुपर्ने व्यक्ति नै गृहमन्त्री छन्।

प्रहरी प्रशासनलाई निर्देशन दिने व्यक्ति नै गृहमन्त्री भएपछि कसले उनमाथि अनुसन्धान गर्छ ? कसले उनलाई कारबाही गर्छ ? लामिछानेमाथि कारबाही गर्नुपर्ने माग राख्दै पीडित बचतकर्ताहरुले संसदीय समितिमा समेत उजुरी दिइसकेका छन्।

अब विपक्षका दलहरुले लामिछानेलाई सदनमा छिर्न समेत दिनुहुन्न। सदन तीन करोड नेपालीको आवाज उठ्ने थलो हो। नाकि ठग बस्ने थलो।

प्रचण्ड आफ्रनै सहयात्री पक्राउ पर्दा टुलुटुलु हरेर बसे अनि सहकारी ठगीको आरोप लागेका लामिछानेलाई झण्डावाला गाडी चढ्ने बनाए। प्रचण्डलाई अर्को निर्वाचनमा जनताले यसको सजाय दिने छन्। पार्टीले पनि यसको सजाय उनलाई अवशय दिने नै छ।