आन्तरिक शुद्धीकरण नीतिलाई आत्मसाथ गर्दै काम गर्न आईजीपी कुँवरको निर्देशन

फाइल तस्वीर

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले संगठनले आन्तरिक शुद्धीकरणको नीति लिएकाले राम्रोसँग काम गर्न हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई निर्देशन दिएका छन्।

कार्यक्षेत्रमा खटिनुअघि आईजी कुँवरले प्रहरी प्रधान कार्यालयमा बोलाएर उनीहरूलाई निर्देशन दिँदै संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धीकरणलाई आत्मसात् गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्न कटिबद्ध हुनुपर्ने बताए।

आईजी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ(आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए। लागूऔषध नियन्त्रण तथा रोकथाम,फरार अपराधी पक्राउ,जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरुद्ध सचेतना अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने उनले बताए।