फोहोर, प्रदूषण र अस्तव्यस्त शहर बन्यो काठमाडौं,सर्वसाधारणलाई सास लिन गाह्रो,जीवजन्तु विस्थापित

फाइल तस्वीर

हरेक प्राणीलाई पानी र अक्सिजन चाहिन्छ। पानी र अक्सिजनबिना कुनै पनि प्राणी बाँच्न सक्दैन्। अक्सिजनका लागि वृक्षरोपण गर्नुपर्छ। तर, पछिल्लो समय वन नै फडाँनी गरेर बस्ती बसाउन थालिएको छ। प्रकृतिप्रति कोही पनि जिम्मेवार छैन्। काठमाडौं उपत्यका मात्रै नभई बाहिरी जिल्ला पनि घरघरैको शहर बनिसकेको छ।

भौतिक पूर्वाधारको विकास गर्दा प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्। उपत्यका बिजोग अवस्थामा छ। जता हेर्यो घरघरै र गाडी।रुखविरुवा देखिन छोडिसकेको छ। धुँवाधुलोको मुस्लो फयाँकेर गाडी गुडिरहेका हुन्छन्। जसले गर्दा आम सर्वसाधारणलाई श्वासप्रश्वास गर्न पनि समस्या परेको छ।

सरकारले २० वर्ष पुगेका गाडी विस्थापित गर्ने नीति लिएको छ । विडम्बना, कार्यान्वयन भएको छैन्। ईट्टाभट्टाले दिएको सास्तीको कुरा गरिसक्नु छैन्।

ईट्टाभट्टाबाट व्यापक प्रदूषण भइरहेको छ। सर्वसाधारण स्वस्थ हावा लिनबाट समेत वञ्चित भएका छन्। क्रसर उद्योगले पनि व्यापक वातावरण प्रदूषण गरिरहेको छ।

खोला, नदीनालाबाट गिट्टीवालुवा निकाल्दा पानी नै फोहोर बनेको छ । यता, पानीमा बस्ने जीवहरु पनि मासिँदै गएका छन्। नदीनाला, खोलाको पानी फोहोर भएपछि मान्छेले के पिउने ? पशुपंक्षीले कहाँ गएर आफ्नो तिर्खा मेट्ने ? वातावरणसँग नराम्रो खेलबाँड गरिएको छ।

ढुंगा, माटो निकाल्दा वनजंगल नै सखाप भएको छ। रुखहरु मासेर ढुंगा, माटो निकालिएको छ । जसले गर्दा चराचुरुंगी, जीवजन्तुहरुको बासस्थान मासिएको छ। यता, बर्खामा बाढी, पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर, प्लटिङ गरेर घर बनाइएको छ।

अन्न फल्ने जमिन त कंक्रिट बनिहाल्यो, साथै, छेउछाउमा भएका रुखविरुवा पनि मासियो । काठमाडौं उपत्यका कंक्रिटको शहर बनेको छ । पानी पर्यो भने पूरै शहर जलमग्न बन्छ, किन ? किन कि जमिन सबै ढलान गरिएको छ, पानी जाओस् कहाँ ? पहिलेपहिले पानी जमिनले सोस्थ्यो।

ढलानले त पानी सोस्दैन्। यसले गर्दा ढुंगेधारा, कुवाको अस्तित्व पनि संकटमा परेको छ । आकाशबाट परेको पानी ढुंगेधाराबाट आउँथ्यो । बाटो हिँड्नेले ढुंगेधाराबाट पानी पिँउथे। अब अहिले त मिनिरल वाटरको जमाना आयो । ढुंगेधाराको कसले चासो गर्ने ? पानी पर्यो भने सिँधै घरको छतमा झर्छ अनि बाटोमा।

बर्खामा डुबान, हिँउदमा धुलैधुलो । पानीको हाहाकार पछिल्लो समय व्यापक देखिएको छ। पानीको समस्या पूर्ति गर्नका लागि जमिनमा बोर्डिङ गर्ने क्रम बढेको छ। जमिनभित्र पानी नै गएको छैन्,बोर्डिङ गरेर के फाइदा ? भोलि जमिन नै भाँसिन सक्छ भन्ने कसैले सोचेका छैनन्।

जहाँ मनलाग्यो, त्यही बोर्डिङ गरिन्छ । घर कस्तो ठाउँमा बनाउने ? कति जग्गामा कति तलाको घर बनाउने ? कुनै मापदण्ड छैन् । घर बनाउन पाए पुग्यो । माटो नै चेकजाँच नगरिकन घर ठड्याइएको छ । कमशल माटोमा भौतिक संरचना निर्माण भइरहेका छन् । भनिन्छ नि,‘दशा बाजा बनाएर आउँदैन्।

भूकम्पलगायतका प्राकृतिक विपद् जति बेलापनि आउन सक्छ। त्यो घर त ढल्छ नै, छेउछाउमा भएका घरलाई समेत क्षति गर्छ । चार दशकअघि उपत्यकाभित्र प्रशस्तै ढुंगेधारा, चौतारा, पार्टीपौवाहरु देखिन्थ्यो। बाँसघारी पनि प्रशस्तै हुन्थ्यो । ठूल्ठूला रुखहरु थिए । अहिले ढुंगेधारा, पार्टीपौवा, चौतारा एकताकाको कथाजस्तै भएको छ।

भद्रकालीबाट सिंहदरबार आउने बाटोमा हेर्नुपर्छ, सिमेण्टको गमला बनाएर रुख रोपिएको छ । पुलमाथि सिमेण्टको गमला बनाएको छ । विरुवा पनि थोरै मात्र गाँडिएको हुन्छ । मान्छेले तान्यो भने फुत्त निस्किन्छ । पानी हालेको हाल्यै हुन्छ तर विरुवा बढ्दैन् । पालिकाहरुले हामीले काम गरेका छौं है भनेर देखाउन खोजेको स्पष्ट छ ।

विरुवा रोपेपछि त हुर्किनुपर्यो। एउटा रोप्यो, मर्छ फेरि अर्को रोप्छ । यही क्रम चलिरहेको छ। जनताले तिरेको कर विरुवा रोप्ने नाममा सखाप पार्ने काम मात्र भइरहेको छ। आज रोपेको विरुवा केही दिनमा मरिहाल्छ, फेरि अर्को रोप्यो। कि रोप्दै नरोप्नु कि राम्रोसँग रोप्नु र हेरचाह गर्नु।

काठमाडौं महानगरपालिकाले केही महिनाअघि बिजुलीबजारको पुलमा गमला राख्यो। त्यहाँ पुलको विरुवा रोपिएको थियो। अहिले ती फूलहरु सुकेर गएका छन्। कतिपयले चुँडेरै सकाइदिए । त्यहाँ पनि जनताले तिरेको कर खेर गयो। गमलामा रोप्नुको साटो जमिनमा रोपिदिएको भए हुने थियो।

सडकको बीचमा रुखविरुवा रोपिएको छ । तर, ती पनि मरिसकेका छन्। सडकको छेउछाउ स्थानीय पालिकाले फलामको बस्ने कुर्सी बनाएका छन्। भद्रकालीमा काठको बनाइएको छ। ती काठका कुर्सी पानीले कुहिसकेका छन्। यता, फलाममा खिया लागेको छ । कि ढुंगा छापेर बस्नुपर्थ्यो कि सिमेण्टको।

नत्र माथिबाट पानी छेक्ने खालको बनाउनुपर्थ्यो। यद्यपि, त्यसो गरिएन्। त्यो बिग्रियो, अर्को हाल्छन्, फेरि भ्रष्टाचार । जनताले तिरेको कर ‘वालुवामा पानी’ भएको छ। सरकारले विकास कस्तो हुनुपर्छ भन्ने नै बुझेन् । एकचोटिमा हुने काम पटकपटक गर्नुपरेको छ । पैसा भने खर्च भएको भर्यै छ।

काठमाडौंमा खुला ठाउँ कतै छैन्। कतै गएर बस्छुभन्दा खुला ठाउँ छैन्। जसले गर्दा वृद्धवृद्धालाई सास्ती भएको छ। दिनभरी कोठामा निस्सासिएर बस्न त सकिँदैन्। हिजो दिँउसो १२ बजेतिरको कुरा हो, बागबजारबाट रत्नपार्क जानेतर्फ आकाशे पुलमा एउटा वृद्ध उभिरहेका थिए।

कोठामा बस्दाबस्दै वाक्कदिक्क भएर बाहिर निस्किएका उनलाई पुलमाथि व्यापार गर्नेहरुले बस्न पनि दिएनन्। हामीलाई व्यापार गर्नुपर्ने छ, तपाई गइहाल्नुस भन्दै उनलाई व्यापारीहरुले हप्काइरहेका थिए। सिन्धुपाल्चोक घर बताउने ती वृद्ध त्यसपछि घरतिर लागे। आकाशे पुल व्यापार गर्ने ठाउँ होइन्।

तर, कसैले टेरपुच्छर मानेका होइनन्। नगरप्रहरीको ध्यान आकाशे पुलमाथि जाँदैन्। जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन्। आकाशे पुलहरु साह्रै फोहोर छन्। पुलहरु सफा गर्नुपर्यो, रंगरोगन गर्नुपर्यो। काठमाडौं उपत्यका फोहोरी शहर बनेको छ। जता हेर्यो फोहोरको थुप्रो।

गुट्खाको खोल सडकभरी छरिएको हुन्छ। डस्टबिन कतै छैन्। खाने, सडकमा खोल फाल्ने क्रम जारी नै छ। यसमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ। तारैतारको शहर बनेको छ काठमाडौं। साँघुरा सडक, सवारीको चाप। सडकहरु सफासुग्घर बनाउनुपर्यो। तीन तिरैबाट घर च्यापेर बनाइएको छ।

अनि रुखचाँहि कहाँ रोप्ने ? एउटा नीति त हुनुपर्थ्यो। बाटो बनाऊ,घर बनाऊ सरकारको पोलेसी यतिमै सीमित छ। शहरलाई कसरी सफासुग्घर र सुन्दर बनाउने भन्ने सोच सरकारसँग छैन्। केही समय अघिसम्म ठूल्ठूला वरपिपलको रुख देखिन्थ्यो। अहिले पिपलको रुख देखिनै छोडिसकेको छ।

सरकारले त आम सर्वसाधारणलाई रुख रोप भनेर सिकाउनुपर्ने होइन् र ? ससाना होइन्, ठूलाठूला हुने रुख लगाउनुपर्यो। आज रोपेर भोलि उख्लिने रुखको विरुवा के काम ? पहिलेपहिले घर ढुंगामाटोको हुन्थ्यो। त्यस्ता घरमा चराचुरुंगी बस्ने ठाउँ राखिन्थ्यो। भँगेरा,गौँथली आएर बस्थे।

अहिले सबै ढलानको घर छ। त्यहाँ चरा बस्ने ठाउँ हुँदैन्। पछिल्लो समय भँगेरा देखिनै छोडिसकेको छ । चराचुरुंगीहरु विस्थापित हुँदै गए । जंगलहरु माँसिदा जीवजन्तुको घर नै मासियो।