उत्पादन र रोजगार केन्द्रित बजेट बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन्। एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ।

अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु।

बैठकमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटमा नयाँपन दिनुपर्छ।

सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए। यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए।

आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्। ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिनुपर्छ,उनले भने, ‘काम नभएका योजनालाई हटाउँदा पनि फरक पर्दैन। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौं।