प्रधानमन्त्रीको कामः बजार अनुगमनमा तीव्रता दिने हो कि ओली र देउवाको अनुहार मात्र हेर्ने ?

 पछिल्लो समय किराना पसलदेखि सुपरमार्केट, बिग मार्ट, भाटभटेनीलगायत सबैमा प्लास्टिकमा प्याक गरिएको सामान पाइन्छ। यस्तो सामान कम तौलको हुने गरेको छ। कतिपय सामान त कुहिएको, बिग्रिएको पनि भेटिन्छ। म्याद गुज्रिएकोमा पनि नयाँ मिति टाँसेर महँगो मूल्य बेचिन्छ।

सबै सामान प्याक गरिएको हुँदा उपभोक्ताले न त्यो खोलेर हेर्न पाउँछन् न तोकिएबमोजिम तौल छ वा छैन ? भनेर जाँच नै गर्न पाउँछन् । त्यहाँ जति प्याक गरिएको छ र जति मूल्य भनिएको छ,त्यति नै तिर्न आम सर्वसाधारण बाध्य छन्। एक पटक सामान किनेपछि बिग्रिएको वा कुहिएको पाइएमा फिर्ता लिइदैंन।

उपभोक्ताहरु सामान किनेर लैजान्छन्। अनि खान योग्य भएमा खान्छन् नभए फाल्छन्। किनकि एक पटक सामान किनेर लगेपछि फिर्ता लिदैंन।

अहिले बजारमा नक्कली वा गुणस्तरहीन सामानहरु व्यापारीहरुले बेचिरहेको पाइन्छ। चाँहे त्यो मदिरा होस् या घर बनाउने सामान। माछामासु, दही दुध तथा तरकारी र फलफुल पसलहरुले पनि सडेका, बिग्रेका सामान बेचिरहेका छन्।

उनीहरु आफुले धमाधम कमाएका छन् भने सर्वसाधारण ठगिएका छन्। सुन, औषधी, हार्डवेयर पसलहरुको पनि यस्तै ठगीधन्दा छ। म्याद सकिएको, गुणस्तरहीन वा कम तौलको सामान महंगोमा बेचेर सर्वसाधारण ठगिरहेका छन्। बजारमा सरकारी निकायको अनुगमन सुस्त छ। यसले गर्दा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलहरुमा म्याद सकिएको वा बिग्रिएको सामान महंगोमा बेचिरहेको छ।

बजारमा ठगी र कालोबजारी हवात्तै बढेको छ। जसले जे गरेपनि भएको छ। यद्यपि, सरकारी निकायको यसप्रति ध्यान गएको छैन। सरकरले अनुगमनमा चासो दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, सम्बन्धित स्थानीय तहहरुले अनुगमन गरेका छैनन्। पेट्रोल पम्प व्यवसायीहरुले सिल बिगारेर महंगो पैसा लिई पम्प भने तोकिएभन्दा कम तथा गुणस्तरहीन बेच्ने गरेका छन्।

ग्याँस व्यवसायीहरुले पनि थोप्रा, पुरानो सिलिण्डर बेचिरहेका छन्। नाप तौल तथा गुणस्तर विभाग अनुगमनमा निस्कदैंन। केही वर्षअघि सरकारी निकायको अनुगमनमा भाटभटेनी सुपरमार्केटले बिग्रिएको वा कुहिएको सामान बेचेको पाइयो। उता, रायस हार्डवेयरले पनि गुणस्तरहीन वा तोकिएभन्दा कम तौलको डण्डीलगायत सामान बेच्ने गरेको पाइएको थियो।

तर, यी दुवैलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरेर छोडिदिइयो। बजारमा व्यापारीहरुले लुटतन्त्र मच्चाएका छन्। कमसल, गुणस्तरहीन र कम तौलको सामान बेचेर उपभोक्ता ठग्नु ठगेका छन्। यद्यपि, सरकार भने अनुगमनमा चासो दिदैंन। झन् अहिले त व्यापारी तथा व्यवसायीहरुले सरकारी, सार्वजनिक जग्गा दुरुपयोग तथा हिनामिना गरेको पनि पाइएको छ।

अनि उद्योग, वाणिज्य महासंघ भने यस्तो अवैध वा गैरकानूनी काम गर्ने व्यापारीलाई सरकारले समात्नुहुन्न भन्दै विज्ञप्ति निकाल्छ। व्यापारी तथा व्यवसायीहरुले जे–जस्तो काम गरेपनि सरकार मौन रहनुपर्ने महासंघ भन्छ। अहिले उद्योग, वाणिज्य महासंघलाई जनता ठग, दलालीहरुको महासंघ भन्छन्।

सरकारी, सार्वजनिक जग्गा हिनामिना गर्ने तथा जनताको बचत दुरुपयोग गर्नेलाई समेत कारबाही नगर्नु भनी विज्ञप्ति निकाल्छ भने त्यो पक्कै पनि महासंघ हुँदै होइन। किनकि महासंघले त गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ। गैरकानूनी काम गर्ने जोकोहीलाई पनि कारबाही गर्न महासंघबाट आवाज उठ्नुपर्छ।

काठमाडौं उपत्यकालगायत मुलुभरका विभिन्न ठाउँमा अहिले पनि धारामा पानी आउँदैन। यसले गर्दा उपभोक्ताहरु जारको पानी किन्छन्। तर, त्यो जारको पानी गुणस्तरहीन हुने गरेको छ। जार खोल्दा पानी नै गन्हाउँछ। त्यो पानीले कतिपयको स्वास्थ्यमा समेत असर गर्ने गरेको छ। जिरा पिट्ने मिलमा एक किलो जिरा र तीन किलो धनियाँ मिसाइन्छ।

अनि त्यो प्लास्टिकमा प्याक गरेर शुद्ध जिरा भन्दै महंगोमा बेचिन्छ। बजारमा केमिकल मिसाएका, खान अयोग्य सामान व्यापारीहरुले बेचिरहेका छन्। कानूनमा घरायसी मदिरा बेच्न पाइदैंन। तर, भट्टी पसलहरुमा देसी मल, पुरानो कपडा र जुत्ता, राँगाको खुट्टा, शखरलगायतको प्रयोग गरी रक्सी बनाएर बेचेको पाइन्छ।

यद्यपि, यसतर्फ सरकारको ध्यान गएको देखिदैन। सरकारी निकायहरु अनुगमन गर्दै गर्दैनन्। मासु पसलेहरु खसीको मासु भनी बाख्रा र राँगाको भनी भैंसीको मासु बेच्छन्। अझै बासी र कम तौल बेच्छन्। कपाल काट्नेदेखि ब्युट्री पार्लरहरुले समेत सर्वसाधारण ठगेका छन्।

विभिन्न केमिकल मिसिएका सामान प्रयोग गरी मानिसहरुको कपालदेखि अनुहारसम्म बिग्रारिन्छ। फेरि यस्ता व्यवसायहरु दर्ता पनि भएका छैनन्। दर्ता बिनै व्यवसाय सञ्चालन गरी यीनीहरुले सर्वसाधारणसँगै राज्यलाई समेत ठगिरहेका छन्।

व्यापार गर्ने नाममा व्यापारीहरुले सर्वसाधारण ठगेका छन्। उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन्। राज्यलाई कर तिरेका छैनन् । तैपनि उनीहरुलाई कारबाही कसले गर्ने ?

बाटोमा बच्चादेखि ठूलासम्मले पानीपुरी, चटपटे खाइरहेको देखिन्छ। व्यापारीहरुले आफ्नो नाफाको लागि यस्ता खानेकुरामा विभिन्न अखाद्य वस्तु मिसाउने गरेका छन्।

यस्तो खानेकुराले सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर गर्छ। तर, सरकारले यसमा रोक लगाएको छैन। सम्बन्धित स्थानीय तहहरुले पनि यस्तो वस्तुमा प्रतिबन्ध लगाएका छैनन्।

कतिपय स्थानीय तहले प्रतिबन्ध लगाएपनि अनुगमन नगर्दा व्यापारीहरुले बेचिरहेको पाइन्छ । सार्वजनिक सवारीसाधनमा पनि यस्तै छ। यातायात व्यवसायीहरु सिटभन्दा बढी यात्रु हाल्छन्। झुण्डिएर, कुच्चिएर यात्रा गर्नुपर्छ तर भाडा भने सरकारले तोकेकाभन्दा बढी तिर्नुपर्छ। उता, ट्याक्सी व्यवसायीहरु पनि मिटरमा यात्रु बोक्दैनन्।

न त यात्रुले भनेको ठाउँमा नै जान्छन्। थोत्र्रा, पुराना र कबाडी ट्याक्सी चलाएर व्यवसायीहरुले जनता ठग्नु ठगेका छन्। अनि यस्तालाई कसले कारबाही गर्ने ? अहिले गृहमन्त्री रवि लामिछाने भन्छन्,मैलें गल्तीमा राजीनामा बोकेर हिँडेको छु। काम गर्न सकिँन भने तत्काल राजीनामा दिन्छु।

लामिछाने गृहमन्त्री भएको पनि एक महिना भइसक्यो। तर, अहिलेसम्म उनले एउटै काम गरेका छैनन्। न सुन तस्करीमा सम्बन्धित व्यक्तिलाई समाते न बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई कानूनी दायरामा ल्याउन सके । उल्टै उनीमाथि नै सहकारीमार्फत हजारौं बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप छ।

अनि यस्ता गृहमन्त्रीले पनि देश र जनताको लागि काम गर्छन् त ? काम भने नगर्ने अनि काम गर्न नसकेमा राजीनामा दिन्छु भन्दै जनतामा भ्रम फैलाउने, गृहमन्त्रीज्यु ? गृहमन्त्री भएको यत्रो दिनसम्म के के गर्नुभयो ? यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भन्छन्, ‘देशमा आर्थिक मन्दी छैन।

बजारमा व्यापारीहरु भन्छन्, ‘मन्दीका कारण व्यापार व्यवसाय ठप्प छ। अब हामी पनि पलायन हुने अवस्थामा पुगेका छौं ।’ सर्वसाधारण पनि आर्थिक संकट निम्तिएको बताउँछन्। बेरोजगारी बढेकाले दिनहुँ विदेश पलायन हुने बढिरहेका छन् । तर, सरकारमा बसेकाहरु भने आफ्नो कुर्सी जोगाउन जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्।

अहिले बजारमा कुन सामानको मूल्य कति छ ? भनेर प्रधानमन्त्री भन्न सक्दैन। किनकि उनलाई बजारको अवस्थाबारे केही थाहा छैन। बरु केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, रवि लामिछाने,उपेन्द्र यादवको अनुहारमा के के छ ? भनेर उनी भन्न सक्छन्।

अनि यस्तो व्यक्ति प्रधानमन्त्री भएपछि देश कसरी विकास हुन्छ ? कसरी जनताले पैसा तिरेर गुणस्तरीय सामान पाउँछन् ? कसरी जनता ठगिनबाट जोगिन्छन् ?

अहिले जनता सोध्छन्,बजार अनुगमन गर्ने काम कसको हो,प्रधानमन्त्रीज्यु ?प्रधानमन्त्रीले अब कि त आफु देशको प्रधानमन्त्री होइन भन्नुपर्छ नभए बजार अनुगमनमा पनि तीव्रता दिनुपर्छ। जनताले प्रचण्डलाई ओली र देउवाको अनुहार हेर्न मात्र प्रधानमन्त्री बनाएका होइनन्, देश र जनताको हितमा काम गर्न हो।