नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं। भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरु हुनेछ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो। नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ।

गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए।९९ रनको लक्ष्य नेपालले १५।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन्। दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल, अनिल कुमार शाह र रोहित पौडेल शीर्ष चार ब्याटर हुन्। यी मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ।

नेपालको ब्याटिङमा गहिराइ छ। सन्दीप जोरा, दीपेन्द्र, गुलशन झा, करण र सोमपालले तल्लोक्रम सम्हाल्न सक्छन्।

पहिलो खेलमा बेन्चमा रहेका ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्दलाई नेपालले मौका दिएको थियो।

दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । त्यसैले बेन्चका खेलाडीलाई पनि मौका दिनसक्छ।

उता बरोडाको कप्तानी विष्णु सोलांकीले गर्नेछन्। ३१ वर्षीय उनले ४१ प्रथम श्रेणी, ५० लिष्ट ए र ६२ टी-२० खेल खेलेका छन्। त्यस्तै भारतबाट यू१९ क्रिकेट खेलेका शस्वात रावत पनि बरोडाको टोलीमा छन्। अभिमन्युसिंह राजपुत र भानु पनिया छन्।

बरोडाको टोलीमा अधिकांश खेलाडी रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन्। बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ। फाइनल पुग्न सके आइतबार खेल्नेछ।

नेपालको टोली

रोहित पौडेल (कप्तान),आसिफ शेख,कुशल भुर्तेल,कुशल मल्ल,विवेक यादव,सन्दीप जोरा,अनिल शाह,गुलशन झा,दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करण केसी,सोमपाल कामी,प्रतिश जि.सी,अभिनाश बोहरा र आकाश चन्द।

बरोडाको टोली

विष्णु सोलांकी (कप्तान),ज्योत्सनिल सिंह,शस्वात रावत,प्रियांशु मोलिया,भानु पनिया,हेमन्त पौण्डे,सोयबी सोपारिया,अभिमन्युसिंह राजपुत,ध्रुव पटेल,जय अभाले,अमित पासी,मोहित मोंगिया,पिरिक्षित पाटीदार,लक्षित तोक्सिया र बाबासाफिखान पठान।