नेपालले गुजरातलाई हराउँदै फाइनलमा

फाइल तस्वीर

काठमाडौं। नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो।

गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए। हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे।

नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। ओपनर आसिफ शेखले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए। कुशल भुर्तेल ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा आउट भए।

आसिफ र कुशलले १३.३ ओभरमा १२५ रनको शतकीय साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। त्यसपछि ठूलो सटको चक्करमा लगातार विकेट गुमाएपछि नेपालले लगातार विकेट गुमाउँदा २ सय माथिको योगफलमा पुग्न सकेन।

रोहित पौडेल ३, सन्दीप जोरा २, गुलशन झा ४,अनिल शाह शून्य र कुशल मल्ल १ रनमा आउट भए। प्रतिश जि।सी ४ र विवेक यादवले ७ रनमा नट आउट रहे।

गुजरातका जयमीत पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। आर्यन देशाई र धरुशान्त सोनीले २–२ विकेट लिए। नेपालले शुक्रबार बरोडासँग खेल्नेछ। फाइनल आइतबार हुनेछ। नेपालले बरोडा र गुजरात मध्य एकसँग फाइनल खेल्नेछ।