प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा सहित ८ जना विरुद्ध अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

मुलखोला थोपा सिँचाइ आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई कार्य गर्दा उक्त योजनाको लागत अनुमान बमोजिम कार्य नभएको अनुसन्धानको क्रममा देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका हुन्।

निजहरूले स्थलगत गई नाप जाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब तयार गरीगराई प्राविधिक मूल्याङ्कन सहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको आदेशलाई सदर गरी १३ लाख ७४ हजार ९ सय ९१ रुपैयाँ ८३ पैसा हिनामिना गरेको देखिएको हो।

कुस्माका अतिरिक्त सब इन्जिनियर माधव कुमार भट्ट तत्कालीन गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष पटक बहादुर बम र वडा सचिव जानकी कुमारी शाही (वम), मुलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकाय समेतलाई विपक्षी बनाई मुद्दा दायर गरिएको छ।