मन्त्रालय फुटाउने गण्डकी सरकारको निर्णय

पोखरा। गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

यसअघि अघिल्लो साल पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए। यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गराएका हुन्।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिए।

योसँगै गण्डकीको मुख्य न्यायाधिक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ। हालैको एमाले लमजुङको अध्यक्षमा हार बेहोरेका खगराज गुटका अधिकारीलाई न्यायाधिवक्ता निर्णय गरिएको छ।