एमालेका १३ समस्या समाधान गर्न २० कार्ययोजना

काठमाडौं । नेकपा एमालेले पार्टी निर्माणमा देखिएका १३ वटा समस्यालाई समाधान गर्न २० बुँदे कार्ययोजना अघि सारेको छ।

ललितपुरको गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको सांगठानिक प्रतिवेदनमा यस्तो कार्ययोजना अघि सारेका हुन्।

एमालेले देखेका समस्यामा पार्टी नेता कार्यकर्ताहरूमा अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यताको मापदण्ड पालनमा समस्या, ठुला आकारका कमिटी सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन आयोजना र व्यवस्थापन, दक्षिणपन्थी अवसरवाद, सङ्गठनात्मक अराजकता र गुटबन्दीको अवस्था, गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या, पार्टी कार्यकर्ताको मूल्याङ्कन समस्या,पहिचानको मुद्दामा केन्द्रित हुने समस्या, दोहोरोपनाको समस्या, काठमाडौँ उपत्यकाको हकमा पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी कार्यविभाजन अभाव र आदर्श र व्यवहारबिच भिन्नता रहेका छन् ।

त्यसैगरी विधिसम्मत पार्टी सञ्चालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध वैचारिक सङ्घर्ष, आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी निर्माण, जनसंगठनहरूबिच घनिष्ठ सम्बन्ध, पार्टी जिवनको सिर्जनात्मक प्रयोग, असल आचरण र जीवनशैलीको विकास, जनसम्बन्ध विस्तार र विकास, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित, समग्र प्रवासको काम व्यवस्थापन, संसदीय क्षेत्र,सरकार र पार्टी कामको संयोजन एमालेको कार्ययोजनामा समेटिएका छन्।

यी कामहरू गरिरहेको दाबी गरेको एमालेले अनुशासन आयोगको रिपोर्टमा भने यस विपरीतका गतिविधि मौलाएको उल्लेख छ ।

पार्टी संगठनात्मक कामलाई व्यवस्थित पार्न महासचिव पोखरेलको प्रतिवेदनमा २० वटा कार्ययोजना अघि सारिए पनि जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणका ६ वटा समस्या पहिचान गरेका छन् । अध्यक्ष ओलीले पहिचान गरेका यी ६ वटा समस्याको समाधान गर्न प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूको जवाफ मागिएको छ ।

१-पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षणका सम्बन्धमा

२-प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयनका सम्बन्धमा

३-कमिटी सञ्चालन,चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङ्कन

४-कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण

५-आर्थिक सामाजिक रूपान्तरण र जनचासो सम्बोधनको सवाल

६-निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा