प्रहरीले हराएको पेस्तोल अझै भेटिएन

काठमाडौं। इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराका वरिष्ठ सई पूर्ण बिसीले बोकेको बेला हराएको पेस्तोल अझै भेटिएको छैन।सोमबार राति अपरेसनमा जाँदा हराएको पेस्तोल बुधबारसम्म भेटिएको छैन।

अपरेसनमा गएको ठाउँमा निरन्तर खोजी जारी राख्दा पनि पेस्तोल नभेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले बताए। निरन्तर खोजिरहेका छौं। तर अहिलेसम्म भेटिएको छैन’ डीएसपी न्यौपानेले भने।

सोमबार राति गाँजा तस्करी भइरहेको सूचना आएपछि वरिष्ठ सई बिसीको टोली अपरेसनमा खटिएको थियो। सो क्रममा मान्छे पक्राउ परे पनि गाँजा फेला परेको थिएन।

गाँजा नभेटिएको भन्दै फर्किएको प्रहरी टोली कार्यालयमा आइसकेपछि पेस्तोल हराएको भन्दै पुनः खोजीका लागि गएको थियो। त्यसक्रममा गाँजा भेटिएको तर पेस्तोल नभेटिएको डीएसपी न्यौपानेको भनाइ छ।

‘हराउने बित्तिकै रातिदेखि नै पेस्तोलको खोजी भएको हो। सो क्रममा १२ किलो गाँजा भेटियो। डीएसपी न्यौपानेले भने। पेस्तोलमा १० राउण्ड गोली लोड भएको थियो।