सशस्त्र प्रहरी जावनको शव १७ दिनपछि सेती नदीमा फेला

बझाङ, मंसिर २ । सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जावनको शव भेटिएको छ । कात्तिक १५ गते बिहीबार सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएका थिए ।

 

बेपत्ता भएका बुढाको खोजीका लागि काठमाडौंदेखि गोताखोरको टोली समेत बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको सिमलको रुख नजिकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बुढा बेपत्ता भएका थिए ।

 

आइतबार दिउँसो बेपत्ता भएको ठाँउबाट नै शव बाहिर निस्किएको सशस्त्र प्रहरी जवानले नै देखेको र शवलाई पिछा गर्दै जाँदा देवल एरपोर्ट नजिकबाट निकालिएको सशस्त्र प्रहरी जवान सुरेन्द्र सिंहले बताए ।

 

शव भेटिएको बारे मृतकका आफन्तलाई जानकारी दिइसकेको र अहिले शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको सशत्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताए ।