बेलायतबाट निर्मलाका परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर, मंसिर २ । न्याय माग्दै धर्ना बसेका निर्मला पन्तका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्  ।

बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी ,बीएनसी, ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्मलाका बुवा यज्ञराजलाई हस्तान्तरण गरिएको हो  । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले उक्त रकम धर्नास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् ।

 

बीएनसीले पीडित परिवारलाई नैतिक समर्थन जनाउनसमेत आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ  । संस्थाकी सल्लाहकार सुधा गुरुङको पहलमा सहयोग संकलन भएको हो  । ‘निर्मलाका मातापितालाई पैसाभन्दा पनि न्याय चाहिएको हो,’ गुरुङद्वारा लिखित पत्रमा उल्लेख छ, ‘हामी विदेशमा बस्ने नेपाली यो पीडाबाट आहत छौं ।’

 

बीएनसीलेबर्सेनि यस्ता पीडित परिवार र परोपकारी काममा लागेका संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ  । सहयोग हस्तान्तरण गर्दै झाले पन्त परिवारले सुरु गरेको आन्दोलनमा समर्थन जनाए ।

 

यसैबीच यज्ञराजको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जानकारी लिएको छ  । शनिबार धर्नास्थलमा पुगेर टोलीले स्वास्थ्य अवस्था र उपचारका विषयमा यज्ञराजसँग जानकारी लिएको हो  ।