विद्युत् आपूर्ति पर्याप्त

काठमाडौँ, चैत १३ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सबै बाह्य गतिविधि रोकेसँगै नेपालको विद्युत्को मागमा उच्च गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रक्षेपण केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलबार बिहानदेखि कार्यान्वयनमा ल्याइएको लकडाउन घोषणा भएसँगै विद्युत्को मागमा पनि उच्च गिरावट आएको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय बन्द भएपछि विद्युत्को माग घटेको हो । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेको छ । खपत घटेसँगै भारतबाट विुद्युत् आयात पनि घटाइएको छ ।

 

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमान्ड) एक हजार दुई सय मेगावाटको हाराहारीमा रहेकोमा मङ्गलबार घटेर नौ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमान्ड साँझ सात बजे रेकर्ड गरिएको हो । मङ्गलबार राति विद्युत्को माग ४८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमान्ड ६२८ मेगावाट छ । मङ्गलबार बिहान करिब आठ सय मेगावाटमा आएको थियो ।

 

लोड सेन्टर मानिने काठमाडौंँ उपत्यकाको विद्युत्को माग पनि घटेको छ । साढे तीन सय मेगावाट विद्युत् खपत गर्ने काठमाडौँले पिक आवरमा पनि २९० मेगावाट मात्र खपत गरेको देखिएको छ । काठमाडौँ उपत्यकामा मङ्गलबार बिहान विद्युत्को माग एक सय तीन मेगावाट र राति एक सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौँ उपत्यकाको विद्युत्को माग १०४ मेगावाट मध्यान्ह १२ बजे १८२ मेगावाट रहेको थियो ।गोरखापत्र दैनिकमा खबर छ।