कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ , चैत २५।कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

 

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।अब अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

 

‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै  बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

 

अब परीक्षाको नयाँ तालिका कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।

 

यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।