शरीर बन्धक बनाइ फिरौती माग्ने तीन जना पक्राउ

काठमाडौं,फागुन १६। शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

 

निजहरुले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर रु १० लाख माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट ती अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ ।

 

प्रहरीले बन्धक बनाइएका व्यक्तिलाई दुई घण्टापछि विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।रासस,