सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने निर्णय

काठमाडौ असार २१  – सरकारले संसदमा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने निर्ण गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ता लिने र परिमार्जनसहित फेरि पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

‘संसदमा लगिएको राष्ट्रिय चिकित्सा ऐन फिर्ता लिने र पुन: पेश गर्ने निर्णय भएको छ। उनले भने। आजसम्म लागू भएको चिकित्सा शिक्षा अध्यादेशलाई जस्ताको तस्तै कानुनको रूप दिन माग गर्दै डाक्टर गोविन्द केसी जुम्लामा अनसनरत छन्।

सरकारले अध्यादेशलाई मेडिकल कलेजका सञ्चालकको स्वार्थ सिद्ध हुने गरी संसोधन गरेर प्रतिस्थापन विधेयक ल्याएको भन्दै डाक्टर केसी अनसन बसेका हुन्।

अध्यादेशमा काठमाडौं उपत्यकामा पर्ने तीन जिल्लामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर आफ्नै अस्पताल सञ्चालन गरेको तीन वर्ष पुगेकोलाई मात्र सम्बन्धन दिन पाइने लगायत व्यवस्था थिए। सरकारले यी प्रावधान हटाइएको विधेयक संसदमा पेश गरेको थियो।