डोटीबाट एकीकृत समाजवादीका प्रेम आले पुन: निर्वाचित

फाइल तस्वीर

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा (एमाले) की उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले हराउँदै आले निर्वाचित हुनुभएको हो ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याउनु भई निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गर्नुभयो ।

कुल १ लाख २४ हजार ८ सय ७० मतदाता रहेकामा ६३ हजार ५ सय ५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९ सय ६९ मत बदर भएको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित हुनुभएको हो । संविधान सभा निर्वाचन २०७० मा डोटी संविधान सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गर्नुभएका आलेले २०७४ को प्रतिनिधि सभामा डोटीबाटै निर्वाचित हुनुभएको थियो ।

डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका छन् ।