प्रहरीमा तीन डीआईजी पद रिक्त
काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) पद रिक्त भएको छ। ५६ वर्षे उमेर हद पुरा गरी अर्जुन चन्द आजबाट अवकाशमा गएसँगै डीआईजीको तीनवटा दरबन्दी रिक्त भएको हो। उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए।
यसअघि २८ मंसिरमा डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका थिए। उनीहरुको स्थानमा पनि बढुवा गर्न बाँकी नै छ।
तर, सरकारले तत्कालै डीआईजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ। अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ ५ जना डीआईजी बढुवा गर्ने तयारी सरकारको छ।
हालै मात्रै एआईजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन्। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन्। उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन्।
त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ । अनि, एकसाथ ५ जना डीआईजीमा बढुवा गर्ने सरकारको तयारी छ। आकांक्षीहरु धेरै भएकाले कोटा थपिएपछि एकसाथ बढुवा गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।
