भीम रावलको अभियानमा सक्रिय भन्दै पूर्वमन्त्री सुवेदीसहित २ जनालाई कारबाही गर्न एमाले कैलालीको सिफारिस

धनगढी । नेकपा एमाले जिल्ला कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठीत सदस्यसमेत नहरने गरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टका अनुसार जिल्ला कमिटी सदस्यसमेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ । उनले पूर्वमन्त्री सुवेदी एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएको भन्दै कारबाही गर्न सिफारिस गरिएको बताए ।

एमालेबाट निस्काशित भएपछि भीम रावलले मातृभूमि जागरण अभियान चलाएका छने। उनीहरु दुवै जना रावलको अभियानमा सक्रिय रहेको पाइएको बताइएको छ ।

यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले दुवै विषयमा ध्यानाकर्षण भएको जनाउदै खेदप्रस्ताव समेत पारित गरेको प्रचार विभाग प्रमुख भट्टले बताएका छन्। पूर्वसचिव भीम उपाध्यायले केही समय अगाडि लेखराज भट्टले एमाले छाडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।